शुक्रबार, कार्तिक ७ गते २०८३

पुष्पलाल - एक ऐतिहासिक जन्म : एक छलफल

श्रावण १२, २०८२ सोमबार
पुष्पलाल - एक ऐतिहासिक जन्म : एक छलफल

* टंकनाथ पौडेल  र रामकुमार आहत

   प्राकृतिक प्रक्रियाका गतिविधिहरुको कठोर र जटिल संघर्षमा समयक्रमसँगै सृजनाहुने मोड र परिस्थितिहरुले वस्तुगत जगत र जीवन, तिनका ढाँचा, आकार, वृद्धि, विकास र परिवर्तनलाई अगाडि बढाउँदै लैजाने क्रममै संसारका सबै समाज विकास र परिवर्तनहरु भइरहेको हुन्छ ।समाज विकासको क्रममा मानवजातिले बर्बर अवस्थाबाट हुदै आदिम समाज दास समाज, सामन्ती सामाजिक व्यवस्था, पुजीवादी एवं समाजवादी  र तदानुरुपका राज्य प्रणालीहरुमा विकास र परिवर्तन गर्दै आएको छ । यो विश्वभरकै मानवजातिको कुरा भयो । तर नेपाल भने मूलत:अहिले पनि सामन्तवादी घेराबाट बाहिर निस्केको छैन।

    पुष्पलालको जन्म सम्वत् १९८१ सालमा भएको थियो र तत्कालीन नेपाली समाज सामन्तवादकै कठोर जन्जिरभित्र थियो। त्यस विरुद्धको गतिविधि र संघर्षमा उहाँका दाजु गंगालाल सहित अन्य विद्रोही समुहहरु समेत लागीसकेका थिए।पछि सम्वत्१९९७ सालमा दाजु गंगालाल लगायत चार जनालाई तत्कालीन राणा सरकारले राजद्रोहको अभियोगमा आफ्नै आँखा अगाडि हत्या गरेको देखेपछि पुष्पलालको कलिलो दिमागमा गंभीर चोट बज्र्यो। यस बज्रपातको प्रहारले उहाँको किशोर मगजमा विद्रोहको बीजारोपण गर्यो। यसपछि उहाँ नेपाली राष्ट्रिय काङ्ग्रेसमा संलग्न भइ राणा शासन विरोधी प्रजातान्त्रिक व्यवस्थाको निम्ति सक्रिय रुपले संघर्षरत हुनुभयो। तर पछि तत्कालीन राष्ट्रिय-अन्तर्राष्ट्रिय अध्ययन अनुभवका निचोडका आधारमा अन्तत: नेपाल र नेपाली जनताको मुक्तिको लागि सामन्तवादलाईनै खतम गर्नुपर्ने बुझेपछि उहाँ नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने निर्णयमा पुग्नुभयो र विक्रम सम्वत् २००६ साल बैशाख १० गते  अनौपचारिकरुपमा पार्टी निर्माणको पर्चा वितरण र त्यसबाट अघि बढदै पार्टी कार्यक्रम र घोषणापत्र सहित २००६ भाद्र ३० तदानुरुप सन् 1949, 15 September  का दिन आफ्नै पहल र नेतृत्वमा दक्षिण एशियाकै कान्छो नेपाल कम्युनिष्ट पार्टीको जन्म वा स्थापना भएको अौपचारिक घोषणा गर्नुभयो र ढिलै भएपनि नेपालमा पनि कम्युनिष्ट पार्टीको स्थापना भयो ।नेपाल कम्युनिष्ट पार्टीको स्थापनाले नेपाल र नेपाली श्रमजीवी जनताको निमित्त  पाँच वटा निम्न प्रसङ्गमा अत्यन्तै ठुलो महत्त्व राख्यो।

         सर्बप्रथमत: नेपाली जनताले आजन्म पहिलोपल्ट आफू र आफ्नो देशबारे स्पष्ट बुझ्न सक्ने मौका पाए।

        व्दितीयत: जनतालाई युगौंदेखिको सामन्तवाद र साथै  अर्धउपनिवेशवादको जुवाबाट समेत सँगसँगै मुक्त हुने सैध्दान्तिक र राजनैतिक हतियार प्राप्त भयो ।

        तृतीयत: नेपाली जनतालाई गोलबन्दभइ विधिवत रुपमा मुक्तिको लडाइँ लडन सबभन्दा लडाकुक्षमताले लैस सर्वहारा वर्गको ( नेपाल कम्युनिस्ट पार्टीको ) नेतृत्व प्राप्त भयो।

       चतुर्थत: यसले सबै प्रकारका मानवीय दोहनका विरुद्ध मानवताको असली गन्तव्यको जनतामा शंखनाद गर्यो।

       पंचमत: जनतालाई पुरातन अवस्तुवादी आध्यात्मिक चिन्तन प्रणाली विरुद्ध वस्तुवादी भौतिक चिन्तन प्रणालीमा प्रशिक्षित हुने अवसर प्रदान गर्यो।

      उपरोक्त प्रसङ्गहरु यस्ता प्रसङ्गहरु हुन जसले नेपाल र नेपाली समाजलाई उन्नत,स्वच्छ, स्वतन्त्र र सुखी मानवीय जीवनमा उतार्न सक्छन। अतः नेपाल कम्युनिस्ट पार्टी नेपाल र नेपाली जनताको सुखद् भाग्यको भावि बरदान थियो, छ  र हुनेछ ( जस्तो अहिले हामी चीनमा देख्छौं )। नेपालमा पनि तत्कालीन जर्जर परिस्थितिमा पनि यस्तो कम्युनिस्ट पार्टीको  संस्थापन गरेर पुष्पलालजीले आफ्नो जन्मलाई एक ऐतिहासिक जन्म सिध्द गर्नु भएकोछ। नेपालको सन्दर्भमा पुष्पलाल महायुगपुरुष हुनुहुन्छ।

    पुष्पलालले पार्टी संस्थापना पछि पनि अरु धेरै कार्य गर्नु भएको छ।

 १- नेपाली जनताको बिज्ञानसम्मत वर्गीकरण गरि मुख्य वर्गीय दुश्मन सामन्तवाद र साम्राज्यवाद तथा भारतीय एकाधिकार पुजीवाद भएको तथ्य स्पष्ट पार्नु।

२- नेपाली जनतालाई सामन्तवाद तथा साम्राज्यवाद विरोधी रणनीतिक लडाइँ लडने वस्तुवादी संयुक्त जनआन्दोलनको बाटो पहिल्याउँदै दीर्घकालीन सशस्त्र कृषि क्रान्तिमा विकसित हुँदै नवजनवादी क्रान्ति (सामन्तवाद-साम्राज्यवाद विरोधी क्रान्ति ) सम्पन्न हुने स्पष्ट पार्नु।

३- जनतालाई जनताकै भोगाइ र समस्याबाट गोलबन्द र सचेत गराउदै आन्दोलनहरुमा सरिक गराइ ठुला ठुला आन्दोलनहरुमा विकास र बृध्दि गर्दै लैजाने सहि कार्यपद्धति तयार पार्नु।

४- राजनीतिक कार्यकर्ता जनअविभावकको रुपमा जनतामाझ स्थापित हुनु र जनतासँग पार्टीको नङमासुको सम्बन्ध कायम गर्नुपर्ने तथ्य स्पष्ट गर्नु।

५- नेपाली जनआन्दोलनको ऐतिहासिक समीक्षा गरी नेपाली समाजको वर्गसंघर्षको रुपलाई उजागर गर्नु।

६- नेपालको इतिहास, राजनीति, आर्थिक, सामाजिक,  संस्कार-संस्कृति, जस्ता वस्तुगत ( subjective ) विषयहरुका अध्ययनलाई भौतिकवादी जगमा उभ्याउनु।

७- तत्कालीन सामन्ती जर्जरताको नेपाललाई नवनेपालमा परिवर्तन गर्ने दृढ संकल्पकासाथ त्यसको लागि अचुक रणनीतिक योजना र ठोस कार्यनीति तर्जुमा गर्नु।

८- आजीवन क्रान्तिकारी उदेश्यले ओतप्रोत भइ कुशल संगठकको भुमिका निर्बाह गर्नु र पार्टी र जनतालाई बिदेशी भुमिबाटै बलिदानीपुर्ण नेतृत्व दिनु।

९- पार्टीलाई छोटो समयमै राष्ट्रियस्तरमा उठाई अन्तर्राष्ट्रिय मान्यतामा पुर्याउनु।

१०- नेपालमा नेपालीलाई भौतिक दर्शनका आधारमा क्रान्तिकारी शिक्षा र क्रान्तिका लागि आवश्यक शैक्षिक, बौद्धिक, राजनैतिक,आर्थिक, सामाजिक, सांस्कृतिक, सांगठनिक र ऐतिहासिक पृष्ठभूमिका सामाग्रीहरु प्रस्तुत गरि नया राजनैतिक प्रारुप ( model ) मा नेपाल राज्यको जग हाल्नु।

Stambha.jpeg

     उक्त  बुँदाहरु जोकोहीलाई सामन्य जस्तै भ्रम होला, तर नेपालमा पुष्पलाल बाहेक त्यस समयसम्म र पुष्पलाल पछाडि अहिलेसम्म पनि न कसैलेनै समययुगलाई बुझेर यस्तो कार्य गरे ! यसबाटनै के सिध्द छ भने पुष्पलालको जन्मनै नेपालको एक ऐतिहासिक युगको जन्म थियोे।

    विचारणीय पक्ष के छभने वर्तमानसम्म अाइपुग्दा केही नया घटनाहरु घटेका पनि छन, राजतन्त्रको विघटन पनि भएको छ, एकखाले वुर्जुवा पध्दतिको गणतन्त्र भित्र कथित कम्युनिष्ट र काङ्ग्रेसको पालैपालो अदलाबदली सरकारहरु पनि बनेकै छन् र यसरी सत्तामा मालिक फेरिएका होलान् , समयक्रमसङ्गै परिवेश नया भए होला, परिस्थिति अनुरुप अदलिबदलीका रुपहरु देखापरे होलान, वर्गहरु र वर्गसंघर्षका रुपहरुमा केही  हेराफेरी भए पनि होला, नया नया नेतृत्व चयनका छिनाझपटि पनि गरेहोलान, समयसङ्गै मान्छेका जीवन अवस्था र गतिविधिहरुमा परिवर्तन र अवस्थागत अन्तर पनि परेकै होला, मानिसहरुमा, जीवनका भोगाइ, सोचाइ, बुझाइ र गराईमा अल्टापल्टि भएहोला र मानिसहरु कतिपय पहलुहरुमा तरङ्गित भएहोलान् तर रणनीतिक समाधानभने यो होइन, हुन सक्तैन। किनकि यी कुराहरुले उपर्युक्त प्रारुप बमोजिमको न जग हाल्छन न बिट मार्छन। यसैले यो नवयुगीन ऐतिहासिक क्रान्ति होइन, हुन सक्तैन। यो त केवल विशेष अवस्थाका विशेष परिघटनाहरु हुन र त्यही समयविशेषका सामन्य परिणाम र शासक-शासन पध्दतिमा आएका सतही फेरबदल हुन। अतः यश परिवर्तनले जनताको समस्यालाई समाधानतर्फ होइन, झन चर्काउदै लैजान्छ। आजका हाम्रा अगाडिका बेदखलीपुर्ण अनेकौं प्रकारका अत्याचार, भ्रष्टाचार, चर्को शोषण-दमन, न्यायहीनता र दण्डहीनता यसका द्याेतक हुन।

    अपितु उक्त प्रारुप बमोजिमको नया ऐतिहासिक क्रान्तिकारी प्रगतिशील युगको सफल कार्यान्वयनको लागि तदानुरुप सहि नीति, बिशिष्ट गुणवान् ,क्षमतावान, त्यागी, दृढनिश्चयी, संकल्पित, दुरदर्शी, अविचलित, लगनशील, कर्मठ, साहसी, लौहपुरुषार्थी समर्पित व्यक्तित्वको भुमिकायुक्त नेता र नेतृत्वको अावश्यकता पर्दछ र संसारका कैयौं महापुरुष र महानायक मध्ये नेपालमा पनि कम्तिमा पनि पुष्पलालनै एक त्यस्तो विशिष्ट पुरुष उदाउनु भयो जसले नेपाल र नेपाली जनताको तत्कालीन अवस्थाको सुक्ष्म भौतिक अध्ययन-मनन र अनुभव गरी मुक्ति, विकास र सुखशान्तिको मार्ग देखाउनु भयो र त्यसका लागि आजीवन संघर्ष गर्नु भयो । यश मानेमा उहाँ आम शोषितपिडित नेपाली जनताका महान गुरु, पथप्रदर्शक, जननेता तथा अग्रदुत हुनुहुन्छ। उहाँले जुन बाटो देखाउनु भयो त्यही बाटो हिंड्ने र गन्तव्यमा पुग्ने हो भने नेपालीको पनि भाग्य चम्कँदोहो र पुष्पलाललाई नेपालीका भाग्य-विधाता भन्नु कुनै अतिशयोक्ति हुने थिएन।

 क. पुष्पलालले नया नेपालको रुपरेखा कोर्नु भयो। तदानुरुप नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरि प्रण र अठोटकासाथ अगाडि बढदै रहनु भयो। तर नेपाली जनताको दुर्भाग्य! कम्युनिस्ट आन्दोलनलाई गलत दिशातर्फ भडकाउने, मोडने घुसपैठवादी क्रम पनि उहाँसँगसँगै बढ्यो। खुराफातीहरुको त्यस सामन्ती षडयन्त्रले उहाँको कार्ययोजनालाई नै काम गर्यो । पुष्पलालजीले आम मजदुर किसान तथा शोषितपिडित जनतालाई मुक्त गर्न नौलो जनवादी अर्थात् सामन्तवाद र साम्राज्यवाद विरोधी मजदुर+किसान एकतामा आधारित सर्वहारा वर्गीय नेतृत्वमा राष्ट्रिय पुजीपति सहितको संयुक्त अधिनायकत्वको राज्यव्यवस्थाको विशुद्ध वकालत गर्नुभयो र त्यसकै निम्ति अन्तिमसाससम्मै संघर्षरत रहनुभयो। तर आज उहाँको जन्म-शतबार्षिकी (१९८१ असार १५ देखि २०८१ असार १५) मनाउदै गर्दासम्म पनि उहाँले निर्दिष्ट र थालनी गर्नुभएको कार्य सम्पन्न हुन त परै जावोस् धराशायी हुँदै विसर्जनको बाटोतर्फ क्रियाशील छ। यसका मूल कारणहरुको समीक्षा निम्नानुसार प्रष्ट छ।

    राजनीतिको जग आर्थिक व्यवस्था र अवस्था हुनेहुँदा त्यसबारे बुझ्नु आवश्यक हुन्छ। तत्कालीन नेपाल यधपी सामन्तवादको चपेटामा त थियोे नै आधुनिक विश्व पुजीवादको प्रभावले गर्दा र नेपाली समाजको वस्तुगत विकासक्रम र परिस्थितिगत मागले गर्दा पुजीवादी वर्गको पनि विस्तारै जन्म, विकास र वृद्धि हुदैनै थियोे। अन्य आम सर्वाधिक शोषितपिडित सर्वसाधारण मजदुर किसान जनताहरुनै थिए। यसरी नेपालीहरु मूलतः ३ वर्गमा विभाजित थिए। सामन्त वर्ग, पुजीवादी वर्ग र मजदुर-किसान वर्ग। सामन्त वर्ग परम्परागत राजनीतिक विरासत बोकेको सशक्त शासक वर्ग थियोे भने पुजीवादी वर्ग हुर्कदैको कमजोर अवस्थामा हुनाले राजनैतिकरुपले सामन्त वर्गसँग पिडित थियो । यसर्थ उसले पुजीवादी वर्गको हकहित र अवस्थालाई मजवुत गर्न सत्ता हत्याउन पुजीपति वर्गलाई संगठित गरि नेपाली काङ्ग्रेस पार्टी स्थापना गरि प्रजातन्त्रको दुहाई दिन लाग्यो। नेपाली काङ्ग्रेस राजनीतिकरुपमा भलै सामन्तवाद भन्दा प्रगतिशील होस् तर काङ्ग्रेसको  स्थापनाले सामन्तको मात्र नभइ पुजीपति वर्गको  चरम शोषण पनि नेपाली जनतामाथि पर्यो। तर आम मजदुर किसान र शोषित पिडित जनताको हकहितको निम्ति बोल्ने, लडने र उनीहरुको सत्ता स्थापित गर्ने लडाइँको लागि कुनै प्रतिनिधिमुलक संस्था त्यस समयसम्म थिएन। कामरेड पुष्पलालले अति गंभीरताकासाथ संवेदनशील भइ नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरि सामन्तवाद र साम्राज्यवादको समुल नष्ट गरि मजदुरकिसान र शोषित पिडित जनसमुदायलाई मुक्त गर्ने प्रोग्रामकासाथ संघर्षरत रहनुभएको हो।

    यहाँ विचारणीय कुरा केछ भने सामन्तहरु र पुजीवादीहरु  सिध्दान्तत: रणनीतिक रुपलेनै कम्युनिस्ट पार्टीका दुश्मन हुनेहुनाले उनीहरुबाट कम्युनिस्ट पार्टीलाई धोखा हुनु उनीहरुबारे कुप्रचार र अफवाह फैलाउनु, खतरामा पार्नु, ज्यान जोखिममा पार्नु र कम्युनिस्ट पार्टीलाई कमजोर पार्नु वा विसर्जनमा पुर्याउनु स्वभाविक हुन्छ र कम्युनिस्ट पार्टी यस प्रतिकार विरुद्ध माथि उठेर जनचेतनाको बलमा क्रान्तिकारी संघर्ष सफल पार्न अघि बढछन्। सामन्यत: राजनीति भनेको पनि यिनै भिन्न विरोधी वर्गबीचको मरणासन्न रस्साकस्सी हो, संघर्ष हो। तर नेपाल कम्युनिस्ट पार्टीलाई भने सामन्त र पुजीवादीहरुको सिधा प्रहार भन्दा पनि शुरुदेखिनै पार्टीघुसपैठवादीहरुको चर्को मार हनाईले तहसनहस गर्यो। किनभने यसले हरियो घाँसमा बसेको सापलेझैं पार्टीलाई डस्ने र सक्ने गर्दछ। घुसपैठवादीहरुले यात मुलपार्टीमै प्रवेश गरेर या समानान्तर पार्टी निर्माण गरेर पार्टीलाइन,नीति र लक्ष्यलाई बङ्ग्याउँदै पार्टीको मुलोच्छेदन वा विसर्जन गर्दछन र अन्तमा आफ्नो अशलीरुपमा नाङ्गिन्छन। यस्ता घुसपैठवादीहरु नेपाल कम्युनिष्ट पार्टीमा मुख्यतः ६ धारमा देखिए।

 १- दक्षिणपन्थी धार।

 २- उग्रवामपन्थी धार।

 ३- अवसरवादी धार।

 ४- अकर्मण्यवादी धार।

 ५- मनोगतवादी धार।

 ६- भ्रमवादी धार ।

 १- दक्षिणपन्थि धार--- यो धार सामन्तवादी प्रतिक्रियावादी धार हो। सर्वप्रथम नेपाल कम्युनिस्ट पार्टीका संस्थापक कामरेड पुष्पलाललाई पार्टी नेतृत्वबाट पछाडि धकेल्ने शाजिससँगै सम्वत् २०१० मा सम्पन्न पहिलो महाधिवेशनका महासचिब मनमोहन अधिकारीबाटै यस सामन्ती धारको शुरुआत भएको थियो। उहाँले `राज्यको प्रमुखलाई विशेष अधिकार दिइनु हुन्न´ भन्दै अप्रत्यक्षरुपमा राजतन्त्रको संरक्षण गर्नु भएको थियो। यसैगरी दोस्रो महाधिवेशन २०१४ का महासचिव डाक्टर केसरजङ्ग रायमाझीले `राजा सिंहानुक हुन´ `प्रजातन्त्रका प्रहरी´ र `राष्ट्रियताका प्रतीक´ हुन´भन्दै २०१७ सालको राजा महेन्द्रको संसद विघटन र निर्दलीय पंचायती व्यवस्थालाईनै समर्थन गरेका थिए। यस्ता व्यक्तिले नेपाल कम्युनिष्ट पार्टीमा  कस्तो क्रान्तिकारी कार्य गरे होलान् -- हास्यास्पद ! त्ससैगरि तेस्रो महाधिवेशन २०१९ बाट महासचिव छानिएका तुलसीलाल अमात्यजिद्वारा नया जनवादी कार्यक्रम विरुद्ध मजदुर वर्गीए भूमिका र नेतृत्वलाई गौण गरिएको राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमलाई अगाडि बढाइएको थियो। अझ वहाँले त नेपाल कम्युनिस्ट पार्टीलाई त्यही तेस्रो महाधिवेशनबाटै तहसनहसमा पुर्याईदिनु भएको थियो।

    आफैले संस्थापन गरेको पार्टीको आफ्नै अगाडि दक्षिणपन्थीहरुको षड्यन्त्रबाट भएको यो तहसनहसको चर्को पिडाबाट माथि उठेर कामरेड पुष्पलालले २०२५ सालमा पुन: तेस्रो ऐतिहासिक सम्मेलनबाट पार्टीलाई ब्युंताइ पार्टी निरन्तरता जीवन्त  राख्दै अगाडि बढनु भयो र त्यसपछि शुरुहुन्छ पार्टी तहसनहसको फेरि अर्को श्रृङखला।

   २- उग्रवामपन्थी धार-- कामरेड पुष्पलालको नेतृत्वमा जब पार्टी देशव्यापीरुपमा सांगठनिकरुपले गाँजिदै अघि बढ्छ तब पार्टी-विपक्षीतत्वहरुले समानान्तर पार्टी निर्माण गर्दै उग्रबाम धारबाट पार्टी विखण्डनको दिशामा अगाडि बढ्छन् । मुख्यगरेर तत्कालीन झापा विद्रोह र त्यस जगबाट उठेर माले-एमाले बनेकाहरु र मोहनविक्रम सिंह नेतृत्वको अवैध चौथो महाधिवेशन भनिने र यही जगबाट अघि बढ्दै गएका कथित माअोवादी जनयुध्दकारीहरु कम्युनिस्टको खोलमा कम्युनिज्म विरोधी त्यस्ता विपक्षीतत्व हुन जसले उग्रबाम भडकावको गलत हरकतबाट उपद्रो मच्याई कम्युनिज्म प्रति मोहभङ्ग गराउदै जनताको विश्वास तोडेर अघि बढे। नेपालीको मुल नेपाल कम्युनिस्ट पार्टीलाई तहसनहस पारे। तर अन्ततोगत्वा मार्क्सवादी निष्कर्ष कि उग्रवामपन्थ दक्षिणपन्थमैे गएर सिध्दिन्छ, त्यो आज भएको छ, भोगिएको छ।

 ३-अवसरवादी धार-- यो साँचो होकि नेपाल कम्युनिस्ट पार्टी अवसरवादकै घर सरह भयो। धेरै मान्छेले विभिन्न किसिमबाट नेपाल कम्युनिस्ट पार्टीबाट फाइदा लिए। कतिपयले राजनीति बुझ्न,कतिपयले व्यक्तित्व विकास वा निर्माण गर्न र कतिपयले नेता बन्न, कतिपयले आफ्नो राजनैतिक व्यक्तित्वको आडमा भिन्न पार्टी तथा सरकार पक्षमा जम्प हान्न, कतिले पार्टीको आडमा कुनै न कुनै तवरले आफ्नो दुनो सोझ्याउन, कतिले वैयक्तिक समस्याहरु मुद्दामामिला, चोरीडकैती, बदमासी, दुश्मनीको फेरबाट बच्न, कतिले आफ्नो धाकधम्की र रवाफ बढाउन र कतिले आफ्नो इज्जत ,पद-प्रतिष्ठा र सम्मानका लागि जस्ता अादि अनेकौं अवसरका लागि अवसरवादीहरुले पार्टी प्रवेश गरेका हुन्छन्। नेपाल कम्युनिस्ट पार्टीको अहिले जुन हविगत देखिएको छ,भएको छ त्यसबाटै प्रष्ट भैरहेकोछ कि अवसरवादले पार्टीलाई कुनहदसम्म खाएकोरहेछ र कहाँ पुर्‍याइ दिएको छ।

   ४-अकर्मन्यवादी धार-- अकर्मन्यता एउटा ठुलो समस्या र गद्दारी पनि हो। यो इच्छाशक्ति नभएको इच्छाधारी हो। यसले कुनै सार्थक कार्य सफलतापुर्वक गर्न सक्तैन। यसले  परिस्थितिलाई निहार्न सक्तैन र समय परिवेश अनुरुप ढल्न-ढाल्न वा बदल्न-बदलिन जान्दैन, नेतृत्वको क्षमता राख्दैन। वरु कुण्ठित भएर पलायन हुन्छ या आत्मारतिवादमा फस्छ। विचलित र अस्थिरता यसको स्वभाव हो। नेपाल कम्युनिस्ट पार्टीमा एउटा ठुलो विडम्बना यो पनि रह्यो। स्वयम् पुष्पलाल द्वारा प्रशिक्षित पुष्पलाल सरहका अव्वलदर्जाका दिग्गज भनिने उहाँकै अनुयायी साथै रहने साथीहरू जस्तो कि बलराम उपाध्याय, गोविन्द ज्ञवाली साहाना प्रधान जस्ता र अरु धेरै जना नेपाल कम्युनिष्ट पार्टिका नेता भनिनेहरु पनि माले-एमालेकरणमा मटियामेट भए। यसरी अकर्मण्यवादले झनै नेपाल कम्युनिष्ट पार्टीलाई विसर्जनको वाटोतर्फ धकेलिदियो। के स्पष्ट छभने नेपाल कम्युनिष्ट पार्टीमा मान्छेहरु जोजति गएभए प्रष्टै देखिएको यथार्थ क्रान्ति सम्पन्न गर्न नभइ पार्टीलाई नै तोड्न, फोड्न, भाँड्न र विसर्जनतिर मोड्न रहेछ। पार्टी त ती सबले बाँदरको हातकाे नरिवलको खेला पो गराए। सबैलाई आआफ्नै नेतृत्व र आआफ्नै पार्टी चाहिने। यसको मकसद पार्टीलाई विसर्जनतर्फ डोर्याउने,भन्ने सामन्ती दलाल पुजीवादीहरुको षड्यन्त्रमुलक चालबाजी भएको कुरा घामझैं छर्लङ्ग छ। यसरी नेपाल कम्युनिष्ट पार्टी शुरुआतदेखिनै सामन्तवादको गोलचक्करको महाजालमा फस्यो। पुष्पलालजीको देहावसान भयो। शायद  नेपाल कम्युनिष्ट पार्टीको तात्विक मर्म जुन हो पुष्पलालसँगै गयो। नेपालीहरुकोनिम्ति एउटा महानयुगको थालनी त भयो त्यसको सम्पन्नता बीचमै बिलायो।

५- मनोगतवादी धार-- मनोगतवादीहरु आत्मिक,संकीर्ण र मनोविश्लेषणवादी हुनेहुनाले उनीहरुमा मनोवादले घर गरिरहेको हुन्छ। यसलेगर्दा वस्तुनिष्ठताभन्दा पर आफ्नै गुटउपगुट, खेमा तहतबका र समुहका लफ्फाजीनै यिनीहरुका प्रेम र पेवाका वस्तु हुन्छन् । यसैलाई आधार बनाएर उनीहरु समाज,वर्ग,राज्य, राष्टिय र अन्तर्राष्ट्रिय राजनीतिको विश्लेषण गर्दछन,।यसले गर्दा सानोतिनो मनोमालिन्य र मतभिन्नताबाटै पलायन भइ रणनीतिक उदेश्यबाट पथभ्रष्ट हुनु यो धारको विशेषता हो।नेपाल कम्युनिष्ट पार्टीको केही बचेखुचेको शेष अवस्थालाई पनि  हाल यो धारले सिध्याइ दिएको छ। अरुको कुरा छोडौं पुष्पलालकै राजनैतिक लाइनवादी भन्नेहरुनै वा पुष्पलालकै विचारका हमदर्दीहरुनै ६/७ ससाना समुहमा विभाजित भइ लज्जानाक, हास्यास्पद र बेसरम प्रस्तुत भइरहेछन्। उनीहरुका यसकार्यले गर्दा नेपाल कम्युनिष्ट पार्टी पुर्णतः विसर्जित भएकोछ। पुष्पलाल र नेपाल कम्युनिष्ट पार्टी विरुद्ध यो भन्दा ठूलो धृणित गद्दारी अर्को केनै हुन्छ र ! यो त पुष्पलालकै नाममा पुष्पलाललाई सिध्याउने हरियो घाँसको साँप भयो।

   ६- भ्रमवादी धार (Delusionism)- यो धार पनि अत्यन्त खतरानाक धार हो। यो धार भ्रमाही बनेर सत्यसाँचो खयाल नगर्ने, गर्न नसक्ने, यथार्थ नबुझ्ने, तथ्यमा आधारित नहुने, हुननसक्ने कठमुल्लावादी मनोलहडमा रुमलिएर फिरीरहने धार हो। नेपाल कम्युनिष्ट आन्दोलनमा कतिपय यस्ता धेरैनै मानिसहरु जीवनभर भौंतारिएर पनि वस्तुगत तथ्य, यथार्थ र सत्यको पहिचानविनै जीवन सकिरहेकाछन ,बेतालमा जीवनको बर्बादी भोगीरहेछन र वृद्धवस्थामा मौन पश्चातापमा डुब्न पनि पुगेकाछन। यो नबुझी वा सामन्य बुझाइमानै अड्डि कस्ने ( little knowledge is dangerous ) जीवनभर अल्लारे प्रवृत्तिमै तरङ्गितभइरहने भ्रमवादीको ठुलो पंक्तिको कारणले पनि नेपाल कम्युनिष्ट पार्टीमा धेरै ठूलो क्षति हुन गयो ।

   अहिले नेपाल कम्युनिष्ट पार्टीको आफ्नो मौलिक र मूल स्वरुप छैन। हौँ,छौँ भन्नेहरु क्षत-विक्षत छन। तत्कालीन अवस्था भन्दा वर्तमानमा सतह केही फरकनै देखिन्छ । समाजको आर्थिक आधार अधकल्चो मात्र होइन, कचल्टिएको छ। त्यही अनुसार मानसिकता छ र मान्छेहरु स्वभाविकरुपले सोंच,दृष्टि र विचारमा फरक मात्र होइन अल्प बुझिन्छन र आफ्नै जीवन, समाज र भावि राष्ट्रिय जीवनका बारेमा अक्कलमन्द छन। व्यक्ति र समाज आफ्नै समस्याले हाउहाउती भएको छ। राजनीति र क्रान्तिकारी भनिने थरिथरि स्कुलिङका राजनीतिकर्मी र योध्दाहरु आआफ्नै  रद्दीको टोकरीमा थुप्रिएका छन र विलखबन्द झोक्रिएका छन। उनीहरुको स्वअभिमुखी साउसाउतीले जतिसुकै रखरखती भएपनि क्रान्तिको तात्विक मर्म र सहिमार्गमा नआए, नफर्किएसम्म उफ्रेर नवजनवादी क्रान्ति सम्पन्नहुने होइन। चेतनशील भएर स्वेच्छाले जनता सडकमा र सशस्त्र संघर्षमा समाविष्ट नभएसम्म केही अावेशित युवाजोशलाई आत्माघातको उग्रतामा परिचालित गरेर नवजनवादी क्रान्ति  कहिल्यै सम्पन्न हुदैन।

     अब एउटा प्रसङ्ग क्रान्ति सम्बन्धि उठाउँ-- क्रान्ति भनेको समाजको भौतिक अवस्था र समयपरिस्थितिको माग बमोजिम समाजको तल्लो अस्थिर अवस्थाबाट माथिल्लो प्रगतिशील अवस्थामा हुने परिवर्तन हो। यसलाई निश्चित उदेश्यका लागि योजनागतरुपमा सम्पन्न गर्न सकिन्छ। योजना समाजको वस्तुगत र आत्मागत  हिसाबकिताबको उचित मिलानबाट बन्दछ। यो मिलान सहि भएन भने क्रान्ति कहिल्यै सम्पन्न हुदैन। यो पनि देखिइसकेको छ । पुष्पलालजिले वस्तुगत र आत्मागत हिसाबमिलान सहि गर्नुभएको थियो। तर अहिले परिवेशहरु निकै माथि आइपुग्दा पनि उहाँ सहिनै हुनुहुन्छ र गल्ती गर्नेहरु अहिले पनि गल्तीमै छन र सच्चिएका छैनन। बरु अरु गल्ती बढाउँदै छन। किनकि यो कित्तालाई नवजनवादी क्रान्तिलाई भुत्याउनु छ। यसर्थ यिनीहरुले भन्ने गर्छन् - नेपालमा सामन्तवर्ग छैन, नेपालमा पूजीपतिवर्ग छैन, नेपालमा सर्वहारावर्ग छैन, गाउँमा मानिस कम छन, शहरबासी धेरै छन। नेपालमा नयाजनवादी क्रान्ति भइसक्यो। अब नेपाल समाजवादी चरणमा छ र अबको क्रान्ति समाजवादी क्रान्ति हो। अर्को कित्ता छ: प्रमुख दुश्मन सामन्तवाद हो भन्ने र अर्को छ होइन भन्ने । त्यस्तै अर्को कित्ता छ प्रमुख दुश्मन दलाल पुजीवादीवर्ग हो भन्ने। अझ अर्को कित्ता छ: सत्ताधारीहरुनै प्रमुख दुश्मन देख्ने र अर्को छ, संसदवादीहरुनै प्रमुख दुश्मन ठान्ने। यी सब मूख्य सवाललाई बिषयान्तर गरि आम जनतामा भ्रम सृजना गर्ने र अलमलाउने विडम्बनापुर्ण चलाखी हुन।

   यथार्थ कुरा त हामी पुष्पलालयुग बाहिर गएकै छैनौं। अर्थात नवजनवादी क्रान्तिकारी कालभित्रै छौं। यो काल भनेको अर्धसामन्ति र अर्धअौपनिवेशिक काल हो। यो भित्रको पुजीवादी वा पुजिपतिवर्ग कमजोर हुनाले यसले पुजीपति वर्गको राष्ट्रिय चरित्र अदा गर्न सक्दैन र पुजीवादी दलाल चरित्रनै यसको मुल चरित्र हो र समाजमा यसको छुट्टै  वर्गीय आधार हुदैन। राष्ट्रभित्र यसले टेक्ने ठाउँ सामन्तवर्ग र अन्तर्राष्ट्रियस्तरमा पुजीवादी साम्राज्यवादसँग हो। यसले खेल्ने पनि यी दुईको स्वार्थमा हो। त्यसो भएपछि नेपाली क्रान्तिको मुख्य दुश्मन अर्धसामन्ती अवस्थामा हालको संघटित नवसामन्तवाद वा अहिले  सत्ताको केन्द्रमा मुखर रहेको सामन्तवाद र साम्राज्यवादसँग अभिन्न दलाल पुजीवाद हो। त्यसलाई कसैले सामन्तवाद भनोस् वा दलाल पुजीवाद सार उहीँ सामन्तवाद-साम्राज्यवाद हो, अन्तरवस्तु उही हो। त्यसो हुनाले हिजो होस कि आज अर्ध-सामन्ती र अर्ध-अौपनिवेशिक विरोधी नवजनवादी क्रान्तिको तथा नेपाली जनताको मुख्य दुश्मन सामन्तवाद हो, सामन्ती वर्ग हो। यधपी वर्तमान परिवेशमा दलाल पुजीवादीहरु सत्तासीन भएको अवस्थालेगर्दायसलाई सामन्ती-दलाल पुजीवादी वर्ग नै मूल दुश्मन भन्दा मानिसहरु अझ प्रष्ट  हुन्छन् र भएको बुझिन्छ ।तर यसलाई दलाल पुजिपति वर्ग मात्र भनिनु तर्कसंगत हुदैन। किनकि नेपाली समाजमा यसको छुट्टै वर्गाधार छैन। बरु नेपालको,अार्थिक र राजनैतिक अवस्थाको अध्ययनबाट हामीले यसलाई पानीको सुत्र H2O को रुपमाबुझ्न सक्दछौं र बुझ्नुपर्दछ। प्रमुख दुश्मनलाई पुष्पलालजिले यसरी शुरुदेखीनै बिज्ञानसम्मत् अध्ययन विश्लेषण गरेर किटान गरिसक्नु भएको हो र यसमा न विबाद छ न अल्मलिनु छ। तर आज राजतन्त्र हटेको फरक अवस्था छ र मुल सामन्तहरु सत्ता बाहिर र संघटित नवसामन्ती तथा नवअौपनिवेशिक दलाल पुजीवादीहरु सत्तासीन भएको वर्तमान अवस्थामा मानिसहरुमा पानी भनेको H2 वा O हो भन्ने द्विविधा र भ्रम भएको हो। तर तथ्य चाहिँ दुई पाटाको एक सिक्का हो।

    मूल दुश्मनको सवाल मात्रै होइन पार्टी स्थापनादेखि लिएर पार्टीको आवश्यकता, संगठन कार्यपध्दति, आन्दोलन संघर्ष र नवजनवादी क्रान्तिसम्पन्न भैसकेपछिको राज्यव्यवस्थाको विविध पक्षका स्वरुपहरुको बिज्ञानसम्मत  स्पष्ट डिजाइन दिएर र धेरै हदसम्म जनतामा त्यस चेतनाको व्यापक छाप विकास गरेर कामरेड पुष्पलालको सम्वत् २०३५ साल श्रावण ७ गते देहावसान भयो। त्यसपछि अोह्रालो लागेको मुलुकको एकमात्र बिज्ञानसम्मत् सहि नेपाल कम्युनिस्ट पार्टी देशीविदेशी प्रतिक्रियावादी र छद्मवादी एवं अवसरवादी कथित कम्युनिस्टहरुको गोलचक्करमा फस्दै गएर विसर्जनको कगारमा पुगेको देखिएकै छ; भोगिएकै छ। अपितु यसो भन्दैमा पुष्पलालपछिको नेपाल कम्युनिस्ट पार्टीले मुख लुकाउने ठाउँ छैन।

   आज विक्रम सम्वत् २०८१ साल असार १५ गते  पुष्पलालजीको सयौं जन्म जयन्ती। उहाँको जन्म भएको पनि पुरै एक शताब्दी पूरा भएको छ। उहाँले नेपाललाई सहिसलामत `नेपाल कम्युनिस्ट पार्टी´  दिएर जानुभयो। नेपाली कम्युनिस्टहरुले जनतालाई उहाँको नीतिगत आधारमा सचेत गरि  त्यसको सदुपयोग गरेको भए आजसम्म देशमा क्रान्ति सम्पन्न भइ  देश नया प्रगतिपथमा गुडेको हुन्थ्यो । तर हामी नेपालीको दुर्भाग्य सबै कम्युनिस्टहरुले बुझेर वा नबुझेर कम्युनिस्ट आन्दोलनको दुरुपयोग गर्दै लग्यौं जसलेगर्दा कम्युनिस्ट आन्दोलन शुन्यमा पुगेको छ। जेहोस् सयौं बर्षको उहाँको जन्म जयन्ती मनाउने यस अवसरमा पार्टी विसर्जनतिर पुगे पनि र कम्युनिस्ट आन्दोलन गतिहीन र दिशाविहीन भएपनि हाम्रै कम्जोरीका कारण ती सब भएका हुनाले हाम्रा आफ्ना सबैखाले कम्जोरीबाट माथि उठेर आपसी रिसराग, द्वेष ईर्ष्या र मनोमालिन्य भुलेर वर्तमान परिस्थितिको विज्ञानसम्मत चिरफार र मूल्यांकन गर्दै नेपाल कम्युनिस्ट पार्टीलाई र कम्युनिस्ट आन्दोलनलाई लयमा फर्काउन र माथि उठाउन प्रण गरौं, क्रान्तिकारी संघर्षमा अघि बढौं। पुष्पलालजीको त्यो ऐतिहासिक जन्मलाई सार्थक पारौं र आफुलाई कम्तीमा पनि पुष्पलालको नाम लिन योग्य बनाअौ, नया नेपालको निर्माण गरौँ ।अन्यथा हजारौं पुष्पलाल जयन्ती र स्मृति दिवस मनाए पनि पुष्पलालको नाममा सडक, गल्ली स्कुलकलेज, अस्पताल, पुस्तकालय, म्युजियम, बागबगैंचा, सहर र सालिक जेजे बनाए पनि नवजनवादी क्रान्ति सम्पन्न नगरे विना पुष्पलालजीको ऐतिहासिक जन्म सार्थक हुनेछैन। त्यसर्थ इमानदारीपूर्वक दिलो मनले क्रान्तिकारी संघर्षमा लागौं । वर्तमान विश्वपरिवेश र हाम्रो अाफ्नै देशको परिवेशले पनि यो संकेत र आह्वान  गरिसकेको छ, सामन्तवाद तथा साम्राज्यवाद विरुध्द धावा बोलीसकेकोछ। चाहे सयौं बर्षहरु वित्लान, भिषण नरसंहारहरु होलान् , तर तमाम थिचोमिचो र शोषण विरुद्धको अनन्त लडाइँ उनमुक्त मानव समाजमा परिवर्तन नभएसम्म रोकिने छैन । सबै मिलौंजुटौं र वैचारिक रुपले पुनः पुष्पलालजीको नवजन्म गराइ नया जनवादी क्रान्ति सफल पारौं। धन्यबाद 

* लेखकद्वय नेपाल कम्युनिष्ट पार्टी २००६ का अध्यक्ष र सह-अध्यक्ष हुनुहुन्छ