आइतबार, आश्विन १८ गते २०८३

राष्ट्र बैंकले बजारबाट ५० अर्ब रूपैया तरलता प्रशोचन गर्ने


श्रावण ११, २०८२ आइतबार
राष्ट्र बैंकले बजारबाट ५० अर्ब रूपैया तरलता प्रशोचन गर्ने

नेपाल राष्ट्र बैंकले आज गते ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बोलकबोल प्रक्रियामार्फत निष्कासन गर्ने भएको छ। कुल २८ दिन अवधिको उक्त निक्षेप संकलनमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रतिस्पर्धात्मक बोलकबोलद्वारा रकम संकलन गरिनेछ। बोलकबोल २०८२ साउन ११ गते दिउँसो ३ बजेसम्म हुनेछ भने सोही दिन उक्त उपकरण निष्कासन गरिनेछ। उपकरणको परिपक्वता अवधि २०८२ भदौ ८ गतेसम्मको हुनेछ र त्यस दिन साँवा तथा ब्याजसहित फिर्ता गरिनेछ।

ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने र संस्थाहरूले एकभन्दा बढी ब्याजदरमा प्रस्ताव दिन सक्नेछन्। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने बढीमा ५ करोडको गुणनफलमा बाँडिएर कुल ५० अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सकिनेछ। यो उपकरण राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

उक्त बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्। 

राष्ट्र बैंकले निक्षेप संकलन उपकरण निष्काशन गर्नुको मुख्य उद्देश्य बैंकिङ प्रणालीमा मौद्रिक तरलता व्यवस्थापन गर्नु हो। पछिल्लो समय बजारमा अधिक तरलता देखिएको अवस्थामा राष्ट्र बैंकले अल्पकालीन निक्षेप संकलनमार्फत प्रणालीबाट केही रकम अवशोषण गर्ने नीति अपनाएको देखिन्छ। यसले मौद्रिक सन्तुलन कायम राख्न सहयोग पुर्‍याउने गर्छ ।