आइतबार, आश्विन १८ गते २०८३

पूर्वराष्ट्रपति भण्डारीको चुनौती: “पार्टी सदस्यताबाट बञ्चित गर्ने अधिकार छैन”


श्रावण ९, २०८२ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको चुनौती: “पार्टी सदस्यताबाट बञ्चित गर्ने अधिकार छैन”

काठमाण्डाै । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई नेकपा एमालेको सदस्यताबाट बञ्चित गर्नुपर्ने कुनै औचित्य नरहेको स्पष्ट पारेकी छन्। शुक्रबार काठमाडौंमा  एक पत्रकार सम्मेलन आयोजना गदै उनले पार्टीको तर्फबाट गरिएको त्यस्तो निर्णय वैध नभएको र लोकतान्त्रिक मूल्यविरुद्ध भएको दाबी गरिन्।

“संविधान, कानुन र मौलिक स्वतन्त्रता विपरीत गरिएको निर्णयले मलाई दुःखी तुल्याएको छ,” भण्डारीले भनिन्, “ममा कुनै पदको लोभ छैन, तर ४५ वर्षको समर्पण र संघर्षलाई यसरी उपेक्षा गर्नु अन्यायपूर्ण हो।”

उनले एमाले निर्माणमा आफूले हजारौं कार्यकर्तासँग मिलेर रगत–पसिना बगाएको स्मरण गर्दै, “पार्टीप्रतिको मेरो निष्ठा भावनाले होइन, चेतनाले निर्देशित छ,” भन्दै यस्तो निर्णयले पार्टीकै साख गिराउने चेतावनी दिइन्।

पूर्वराष्ट्रपति भण्डारीले एमालेले अंगीकार गरेको ‘जनताको बहुदलीय जनवाद’ को मर्म अनुसार विवेकपूर्ण निर्णय लिनुपर्नेमा जोड दिँदै, “उत्तेजना र भावनामा बगेर लिइने निर्णयले सत्य लुक्दैन, पार्टी बलियो बन्दैन,” भनिन्।

उनले पार्टीको मूल्य र सिद्धान्तमा अझै पनि आफू दृढ रहेको र पार्टी निर्माणमा लाग्न देशभरका नेता कार्यकर्तालाई आह्वान गरिन्। “म सम्पूर्ण पार्टी पङ्क्तिलाई दृढतापूर्वक मूल्य, आदर्श र सिद्धान्त आत्मसात् गरेर अघि बढ्न आह्वान गर्दछु,” उनले भनिन्। पार्टीभित्रको पछिल्लो विवादले आफ्नो अडानमा कुनै असर नपार्ने भण्डारीले बताइन् ।