अब निष्क्रिय र निष्प्रयोजन डिम्याट खाता रोक्का गरिने भएको छ। नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सेयर कारोबारको पारदर्शिता, प्रणालीगत सुधार र लगानीकर्ता संरक्षणमा जोड दिँदै यस्तो व्यवस्था गरेको हो।
बोर्डले पाँच वर्षदेखि नवीकरण नभएका वा सेयर मौज्दात नरहेका डिम्याट खाता बन्द गर्न सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिइसकेको छ। बन्द गरिने खाताबाट नवीकरण शुल्क असुल हुन नसकेमा छुट दिइने र प्राप्त शुल्क निक्षेप सदस्यमार्फत मात्रै बोर्डमा बुझाउने व्यवस्था गर्नेसमेत भनिएको छ।
त्यस्तै, अब दोस्रो बजारमा सेयर किन्न चाहनेको बैंक खातामा रकम भए मात्र कारोबार गर्न पाइनेछ। सेयर आवेदन दिँदाको क्षणमै सिस्टमबाट भेरिफिकेसन भई रकम रोक्का हुने र बाँडफाँटपछि स्वतः फुकुवा हुने प्रक्रिया लागु हुने भएको छ।
गैरआवासीय नेपालीलाई पनि जुनसुकै देशबाट नेपाली नागरिकताको आधारमा सेयर खरिद–बिक्री गर्न पाइने व्यवस्था गरिएको छ। बोर्डले सूचना प्रविधिको उपयोग, नियमन प्रणालीको सुदृढीकरण, नयाँ वित्तीय उपकरणको विकास तथा पुँजी बजारमा शिक्षा र अनुसन्धानलाई प्राथमिकतामा राखेको छ।
बोर्डले यस नीतिमार्फत अवैध कारोबार नियन्त्रण, प्रणालीगत जोखिम न्यूनीकरण र लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।
नेपालपत्र संवाददाता