आइतबार, आश्विन १८ गते २०८३

बंगलादेशी कम्पनीले गर्नेछ नेपालका १० ठूला बैंकको ऋण पोर्टफोलियो परीक्षण


श्रावण ८, २०८२ बिहीबार
बंगलादेशी कम्पनीले गर्नेछ नेपालका १० ठूला बैंकको ऋण पोर्टफोलियो परीक्षण


काठमाडौं, नेपालका १० ठूला वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) अब बंगलादेशको लेखापरीक्षण फर्मले गर्ने भएको छ।

हाउल्याडर युनुस एन्ड कम्पनी नामक बंगलादेशी कम्पनीले दोस्रोपटकको प्रयास र अदालतसम्म पुगेको विवादपछि अन्तर्राष्ट्रिय अडिटको जिम्मा पाएको हो। राष्ट्र बैंकले सार्वजनिक गरेको सूचना अनुसार उक्त कम्पनीले भ्याटबाहेक करिब ४ करोड ९४ लाख रुपैयाँ बराबरको परामर्श शुल्क पाउनेछ। परामर्श शुल्क अन्तर्गत नेपाली रुपैयाँमा ६२ लाख ५४ हजार ९१२ र अमेरिकी डलरमा २ लाख ७१ हजार ६७९ तिर्ने उल्लेख गरिएको छ।

राष्ट्र बैंकका अनुसार १० ठूला बैंकको ऋण पोर्टफोलियो परीक्षणको लागि आवेदन दिएका फर्ममध्ये प्राविधिक प्रस्तावमा योग्य देखिएको एक मात्र कम्पनी हाउल्याडरले आर्थिक प्रस्तावमा पनि सबैभन्दा बढी अंक पाएको हो। यो परीक्षणले डेढ वर्षदेखि रोकिएको प्रक्रिया अगाडि बढाउनेछ। राष्ट्र बैंकले २०८० चैतदेखि १० ठूला बैंकको अन्तर्राष्ट्रिय अडिट सुरु गर्ने तयारी गरिरहेको थियो। यसअघि राष्ट्र बैंकले ६ कम्पनीलाई सर्टलिस्ट गरे पनि प्रक्रिया विवादमा फँसेको थियो। अब बंगलादेशी फर्म छानिएसँगै आईएमएफको सर्त पुरा गर्दै ऋण प्रवाहको पारदर्शिता परीक्षण हुने भएको छ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको विस्तारित कर्जा सुविधा (ईसीएफ_ सम्झौता गरेको थियो। त्यसबापत कोषले सात किस्तामा सो रकम उपलब्ध गराउने निर्णय गरेको थियो। २०८१ असारसम्ममा नेपालले चार किस्तामा करिब १९ करोड अमेरिकी डलरभन्दा बढी रकम प्राप्त गरिसकेको छ। बाँकी किस्ताहरू प्राप्त गर्न राष्ट्र बैंकले बैंकहरूको ऋण पोर्टफोलियो परीक्षण अनिवार्य बनाएको थियो।