आइतबार, आश्विन १८ गते २०८३

नेपाल–चीन सीमापार प्रसारण लाइनको सम्भाव्यता अध्ययन हुने


श्रावण ६, २०८२ मंगलबार
नेपाल–चीन सीमापार प्रसारण लाइनको सम्भाव्यता अध्ययन हुने

 

नेपाल र चीनबीच रसुवागढी–केरुङ सीमापार प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको छ। सोमबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सीआइडिसीए) का अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि उक्त सहमति भएको हो। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य र सिड्काका अध्यक्ष सियाओदोङले सम्भाव्यता अध्ययनसम्बन्धी माइन्युटमा हस्ताक्षर गरेका छन्।

भेटवार्तामा दुबै देशबीच चार परियोजनामा सहकार्य गर्ने समझदारी पनि भएको छ। प्रमुख परियोजनामा चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्रको निर्माण, निजामती अस्पतालको विस्तार सम्भाव्यता अध्ययन, र मानव संसाधन विकास कार्यक्रम समावेश छन्। सहमतिअनुसार एक हजार ८३४ वर्गमिटरमा फैलिएको बोनम्यारो उपचार केन्द्रमा अत्याधुनिक मेसिनरी जडान गरिनेछ। साथै, मानव संसाधन विकाससम्बन्धी समझदारीअन्तर्गत १,२७० जना नेपाली कर्मचारीले चीनमा आयोजना गरिने विभिन्न सेमिनारमा सहभागिता जनाउने अवसर पाउनेछन्।

कार्यक्रममा अर्थमन्त्री पौडेलले उच्चस्तरीय भ्रमण र सहकार्यले दुईपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। चीनले रसुवा जिल्लामा बाढीले क्षति पु-याएका भौतिक संरचनाहरूको पुनर्निर्माणमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। सीआइडिसीए अध्यक्ष सियाओदोङले पुनर्निर्माण र भन्सार प्रक्रिया सहज बनाउन सक्रिय सहयोग गर्ने आश्वासन दिएका छन्।