शुक्रबार, कार्तिक ७ गते २०८३

नेताद्वय बी.पी. र पुष्पलालको सम्झनामा


श्रावण ६, २०८२ मंगलबार
नेताद्वय बी.पी. र पुष्पलालको सम्झनामा
 
 
(भुजङ्गप्रयात)
 
=================
 
थिए शैलझैँ देशका कर्णधार
सधैँ न्यायको पक्षमा सूत्रधार
नयाँ मूल्यका सिर्जनाका प्रणेता
यिनै कर्मयोगी दुई मात्र नेता।१।
 
थिए भेद अन्याय यो लोकमाथि
कुसंस्कारका विघ्न बाधा समाती
उखेलेर फ्याँक्ने धरा चट्ट पारी
थिए राष्ट्र स्वाधीनताका पुजारी।२।
 
सयौँ कष्ट निर्वास वा जेलनेल
बुझी मुक्तिका निम्ति सामान्य खेल
लडे यी दुबै वीर निष्ठा लिएर
स्वयं मुक्ति उत्सर्गमा होमिएर।३।
 
प्रजातन्त्रको मूल आधार बाटो
र यो देशको सम्झिँदै दिव्य माटो
पराधीनताबाट उन्मुक्त पार्ने
महासर्गका निम्ति हार्दै नहार्ने।४।
 
कि विश्वेश्वरैको भजाएर नाम
यहाँ थापिने गर्छ उम्दा इनाम
कि देखाउँदै वीर ती पुष्पलाल
बुनिन्छन् सयौंं नक्कली शब्दजाल ।५।
 
यिनै वीरको सम्झना गर्न आज
र निष्ठा लिई फेर्न अफ्नो समाज
प्रतिज्ञा र आदर्शमा हिँड्नुपर्छ
यही मार्ग कल्याणकारी ठहर्छ ।६।
 
छ हल्ला ठुलो देशमा काम छैन
नलुट्नेहरूको यहाँ नाम छैन
सधैँ न्याय दोकानमा किन्नुपर्छ
र आफ्ना लबीतर्फका चिन्नुपर्छ ।७।