काठमाडौं, नेपालको बैंकिङ क्षेत्रमा अग्रणी भूमिका निभाउँदै आएको एनआईसी एशिया बैंक लिमिटेड आजदेखि आफ्नो २८ औं वार्षिकोत्सव मनाउँदैछ। “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नारा भएको बैंकको यो यात्रा आज देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकको रूपमा परिचित बन्न सफल भएको बैंकले जनाएको छ।
सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता अर्जुन राज खनियाद्वारा जारी विज्ञप्तिमा ‘डिजिटल फस्ट बैंक’ बन्ने अठोटका साथ प्रविधि–मैत्री, ग्राहक–मैत्री र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने योजनामा अघि बढिरहेको उल्लेख गरिएको छ।
वित्तीय समावेशीकरणमा जोड दिँदै बैंकले मुगु, कालिकोट, जुम्ला, सल्यान, बझाङ, रूकुम जस्ता दुर्गम जिल्लामा समेत सेवा विस्तार गरी बैंकिङ पहुँचविहीन क्षेत्रहरूमा प्रभावकारी उपस्थिति जनाइसकेको छ।
विज्ञप्तिमा विगत २८ वर्षको सफल यात्रामा साथ दिने समस्त ग्राहक, नियामक निकाय, शेयरधनी, कर्मचारी र अन्य सरोकारवालाप्रति आभार प्रकट गर्दै, आगामी दिनमा अझ विश्वसनीय र उत्तरदायी बैंकिङ अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्याइएको छ।
नेपालपत्र संवाददाता