नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक) का लागि लाभांश वितरण सम्बन्धी मार्गदर्शन, २०८२ जारी गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था बाहेकले आर्जन गरेको मुनाफाको बाँडफाँड तथा लाभांश वितरण सम्बन्धी व्यवस्थालाई पारदर्शी एवं थप व्यवस्थित बनाउने अभिप्रायले यो मार्गदर्शन जारी गरिएको जनाएको छ ।
लाभांश घोषणा गर्दा संचित मुनाफा ऋणात्मक नरहेको, संस्था मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने, शेयर प्रिमियम एवंबाट नगद लाभांश घोषणा गर्न नपाईने एवं शेयर लाभांश वितरण गर्दा संस्थाको नेटवर्थ ल ऋणात्मक नरहेको र नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात रहेका हुनुपर्ने छ ।
त्यसैगरी राष्ट्र बैंकबाट भएको स्थलगत एवं गैरस्थलगत निरीक्षणका क्रममा वित्तीय दायित्व सिर्जना हुन सक्ने गम्भिर प्रकृतिका कैफियत रहेको अवस्था नरहेको जस्ता शर्त पुरा गरेको संस्थाले मात्र लाभांश विरतण गर्न सक्ने छन् । यो मार्गदर्शनको कार्यान्वयनबाट संस्थाहरुले आर्जन गरेको मुनाफाको वितरण तथा पुनः लगानी थप प्रभावकारी भई सम्बन्धित संस्थाको जोखिम बहन गर्न सक्ने क्षमता र कार्यक्षमताको बृद्धि तथा विकास हुँदै जाने र सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।
अनुमतिपत्रप्राप्त संस्थालाई नियामकीय पुँजी कायम गर्न आधार निर्माण हुने, अनुमतिपत्र प्राप्त संस्थाको कारोबारको निरन्तर अभिबृद्धि साथै जोखिम बहन गर्ने क्षमता विकासका लागि श्रोतको योजनाबद्ध व्यवस्थापनमा सहयोग पुग्ने, व्यवसाय निरन्तरता योजना कार्यान्वयन गर्न सहज हुने र समग्र भुक्तानी प्रणालीको सबलता र सुरक्षामा टेवा पुगी सर्वसाधारणको विश्वास अभिबृद्धि हुने केन्द्रीय बैंकले जनाएको छ ।
नेपालपत्र संवाददाता