आज एक संयुक्त बक्तब्य निकाल्दै चार किसान संगठनले बाढी पहिरोमा परेका किसान परिबारलाई बिपन्न केन्द्रित राहत प्रदान गर्न र ग्यास लगायत पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धि फिर्ता लिन जोडदार माग गरेका छन् । संयुक्त बक्तब्यमा अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुबेदी, अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)का अध्यक्ष सीताराम थापा, अखिल नेपाल किसान महासंघ(अप्फा)का अध्यक्ष भैरबराज रेग्मी र अखिल नेपाल प्रगतिशील किसान संघका इञ्चार्ज कृष्ण रानाले हस्ताक्षर गरेका छन् । बक्तब्यको पूर्ण पाठ यस प्रकार छ :

चार किसान संगठन : मूल्य बृद्धिको बिरोध, राहत दिन माग
जीवनको लागि अनिबार्य र नभइ नहुने खाद्यान्न र अन्य खाद्य पदार्थ उत्पादन गर्ने किसान राज्यको अकर्मण्यता, उदासीनता र तिरष्कारले गर्दा उनीहरुको आवश्यक सुरक्षा र संरक्षणको गम्भीर बैज्ञानिक नीतिको अभावमा प्रायः बर्षैपिच्छेजसो प्राकृतिक प्रकोप बाढी, पहिरो, कटान र डुबान तथा बिभिन्न ब्याधी आदिको शिकार हुने र ठूलो जन धनको क्षति बेहोर्ने स्थितिबाट गुज्रिदै आएको छ । त्यसमाथि सरकारी भ्रष्टाचार, कमिशनखोरी र मूल्य बृद्धिको चपेटामा पनि मूलत किसान बर्ग नै पर्ने गरेको छ ।
हालै आएको अबिरल बेमौसमी बर्षाका कारण उत्पन्न बाढी,पहिरोको शिकार भएका किसान परिबारहरुले एक त सरकारबाट घोषित राहत पाउन सकेका छैनन् भने अर्कोतिर सरकारी निकायकोरुपमा रहेको नेपाल आयल निगमले खाना पकाउने ग्यासको प्रति सिलिण्डर रु.५० लगायत सम्पूर्ण पेट्रोलिय पदार्थको मूल्य बृद्धि गरेर किसान बर्ग लगायत सम्पूर्ण जनताको ढाड नराम्ररी सेकेको छ । चाडबाडको मुखमा प्राकृतिक प्रकोपमा परेका जनता, खाशगरी किसानमाथि मूल्य बृद्धि लादेर सरकारले जनतालाई ‘मर्योमाथि कात्रो’को स्थितिमा धकेलिदिएको छ ।

यस अस्वीकार्य र पीडादायक स्थितिमा हामी चार किसान संगठनहरु अखिल नेपाल किसान महासंघ (अफ्पा)अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघ ग्याँसमा गरिएको चर्को मूल्य बृद्धि लगायत पेट्रोलियम पर्दाथमा गरिएको मूल्य बृद्धि तत्काल फिर्ता लिन, बाढी पहिरोमा परेका किसानहरुलाई बिपन्न बर्गमा केन्द्रित रहेर आधारभूत(पीडित किसान परिबारलाई बर्ष दिनभरी खानापुग्नेगरी) र थप क्षत अनुसारको राहत तत्काल प्रदान गर्न तथा कृषि र किसानको जीवनको बर्तमान सुरक्षित र भबिष्य सुनिश्चत गर्न पुनः जोडदार माग गर्दछौं । अन्यथा किसान बर्ग आन्दोलनमा उत्रिनुको कुनै बिकल्प नरहने कुरा पनि औंल्याउन चाहन्छौं ।
भैरबराज रेग्मी सीताराम तामाङ्ग
अध्यक्ष अध्यक्ष
अ.ने किसान महासंघ(अप्फा) अ.ने.किसान महासंघ(क्रान्तिकारी)
लोकनारायण सुबेदी कृष्ण राना
अध्यक्ष इञ्चार्ज
अखिल नेपाल किसान यूनियन अ. ने. प्रगतिशील किसान संघ
२०७८ कार्तिक १४