आइतबार, आश्विन १८ गते २०८३

वित्तीय समावेशीकरण सुचकांकः पहुँच, प्रयोग बढ्यो, गुणस्तर भने सुधार्न बाँकी


श्रावण १, २०८२ बिहीबार
वित्तीय समावेशीकरण सुचकांकः पहुँच, प्रयोग बढ्यो, गुणस्तर भने सुधार्न बाँकी

 

नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको वित्तीय समावेशीकरण सूचकांकले देशमा वित्तीय पहुँच, प्रयोग र गुणस्तरमा क्रमिक सुधार भएको देखाएको छ। सूचकांकले वित्तीय समावेशीकरणमा उल्लेखनीय प्रगति भए पनि अझै गुणस्तर सुधार र समावेशी सेवामा भने ध्यान दिनुपर्ने देखाएको छ।

नेपालको वित्तीय समावेशीकरण सूचकांक स्कोर २०७८/७९ मा ०.४० बाट बढेर २०८०/८१ मा ०.४७ पुगेको छ । यसले गएका तीन वर्षमा भएको प्रगतिलाई दर्शाउँछ। त्यसैगरी पहुँच सूचांक ०.३८ बाट ०.४७ मा पुगेको छ, जसले वित्तीय संस्था, डिजिटल उपकरण र सेवा पहुँच जनसंख्यामा विस्तार भइरहेको जनाउँछ। प्रयोग सूचांक ०.४३ बाट ०.४९ मा पुगेको छ जुन डिजिटल भुक्तानी, बैंक कारोबार र सेवा उपयोगमा वृद्धिको संकेत हो।

गुणस्तर सूचांक भने ०.३६ बाट ०.४१ मा मात्रै बढेको छ, जसले अझै पनि पारदर्शिता, सन्तुष्टि, र ग्राहक संरक्षणमा सुधारको आवश्यकता रहेको देखाएको छ । 

वित्तीय समावेशीकरण सूचकांकले देशको वित्तीय सेवाहरू समग्र रूपमा सर्वसाधारणसम्म पुग्न थालेको देखाए तापनि, सेवा गुणस्तर, डिजिटल साक्षरता, र सबैका लागि समान पहुँचको ग्यारेन्टी गर्न थप सुधार गर्न आवश्यक रहेको जनाएको छ।