-
इन्द्रनारायण सुबेदी
(स्रग्विणी छन्द)
=================
चाल सन्सारको फेरिँदै फेरिँदै
स्तब्ध बन्दैछ यो कष्टमा बेरिँदै
लासको त्रासको मात्र दृष्टान्त छ
व्याधिले विश्व नै आज आक्रान्त छ।१।
हार्छ विज्ञानले थेग्न सक्तैन कि
सृष्टिकर्ता स्वयं देख्न सक्तैन कि
कष्ट चीत्कारको दुक्खको प्रान्त छ
व्याधिले विश्व नै आज आक्रान्त छ।२।
घाम उस्तै रहे जून उस्तै रहे
सृष्टिका मूल जे छन् दुरुस्तै रहे
मात्र मान्छे बडो मौन औ शान्त छ
व्याधिले विश्व नै आज आक्रान्त छ।३।
गर्नुपर्ने कुरा गर्न छोडेपछि
स्वच्छ सद्भावना धर्म छोडेपछि
छैन मान्छे खुला बास एकान्त छ
व्याधिले विश्व नै आज आक्रान्त छ।४।
मुक्तिको प्रार्थना कामना गर्नु छ
शक्तिशाली बनी सामना गर्नु छ
मार्ग खोजी नयाँ, चेतना भ्रान्त छ
व्याधिले विश्व नै आज आक्रान्त छ।५।
(समस्या साभार :-प्रतिभा निकुञ्ज )