काठमाडौं, सरकारले निर्यात व्यापार तथा वाणिज्य क्षेत्रको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएका ३० व्यावसायिक कम्पनी तथा संस्थालाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) सम्मान प्रदान गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा बुधबार आयोजित कार्यक्रममा मन्त्री दामोदर भण्डारीले सीआईपी सम्मान हस्तान्तरण गरेका हुन्।
सम्मान प्राप्तमध्ये २१ वटा कम्पनी व्यवसायिक फर्म रहेका छन् भने ९ वटा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था तथा व्यक्तिलाई मानार्थ सिआइपी प्रदान गरिएको हो।
मानार्थ सिआइपी
व्यावसायिक संस्थाका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाललाई मानार्थ सिआइपी प्रदान गरिएको छ। यस्तै, नेपाल हस्तकला महासङ्घ, निर्यात व्यवसायी महासङ्घ, नेपाल छुर्पी व्यवसायी सङ्घ (झापा), नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाल तयारी पोसाक उद्योग सङ्घ र नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात सङ्घलाई पनि मानार्थ सिआइपी दिइएको हो। यी संस्थाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा तेस्रो मुलुकतर्फ पाँच अर्ब रुपैयाँभन्दा बढी मूल्यको वस्तु निर्यात गरेका थिए।
विभिन्न विधामा सिआइपी सम्मान प्राप्त गर्ने कम्पनी
तेस्रो मुलुकतर्फ सबैभन्दा धेरै वस्तु निर्यात गर्ने अग्रस्थानका वस्तु अन्तर्गत:
-
गलैँचा: थर्ड आई इन्टरनेसनल
-
तयारी पोसाक: नेपाल फेसन प्रालि
-
उनी फेल्ट: नेसनल एक्सपोर्ट्स प्रालि
-
छुर्पी: मनराम हिमालयन हेन्डिक्राफ्ट प्रालि
-
पश्मिना: ट्राइकोट इन्डस्ट्रिज
-
भारततर्फ निर्यातमा: डाबर नेपाल प्रालि, आरती स्ट्रिप्स, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड
-
चीनतर्फ निर्यातमा: छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज, अष्टमङ्गल काठमाडौँ
-
हस्तकलाका वस्तु निर्यातमा: गिफ्ट ल्यान्ड इन्टरप्राइजेज प्रालि
-
कृषिजन्य वस्तु निर्यातमा: नेपाल एभरेस्ट कार्डम प्रोडक्सन, झापा
-
जडीबुटी निर्यातमा: एबी हर्बल ट्रेडर्स एन्ड सप्लायर्स, दार्चुला
-
महिला निर्यातकर्ता: जनकपुर रिफाइनरिज, काठमाडौँ
-
एक अर्बभन्दा बढी निर्यात गर्ने कम्पनीहरू: दी साङ्ग्रिला कार्पेट एन्ड ह्यान्डिक्राफ्ट, एभरेस्ट फेसन, त्रिवेणी स्पिनिङ मिल्स लिमिटेड
-
स्टार्टअप: माइन्डफुल क्राफ्ट प्रालि, काठमाडौँ
-
वैदेशिक मुद्राको सर्वाधिक विप्रेषण भित्र्याउने: आइएमई लिमिटेड
-
पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने: एभरेस्ट हस्पिटालिटी होटेल लिमिटेड
मन्त्री भण्डारीले सीआईपी सम्मानले निजी क्षेत्रको मनोबल उच्च राखी निर्यात प्रवर्द्धनमा थप योगदान पुग्ने बताउँदै भने, “यो सम्मान स्याबासी मात्र होइन, समृद्धिको सहयात्रामा साझेदारीको प्रतीक हो,” । उनले नेपाल सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नति हुने भएकाले सरकार र निजी क्षेत्र मिलेर दीर्घकालीन रणनीति बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा व्यापार प्रवर्धन तथा निकासी केन्द्रका कार्यकारी निर्देशक शरविक्रम राणाले सिआइपी सम्मानले व्यवसायीहरूको हौसला बढाउने उल्लेख गरे । सन् २०७६ देखि सुरु भएको सिआइपी सम्मान कोभिडका कारण केही वर्ष रोकिएको जनाउँदै उनले हालसम्म निर्यात ८० अर्बबाट दुई खर्ब नाघेको समेत जानकारी दिए।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको निर्यात सम्भावना ठूलो रहेको उल्लेख गर्दै वार्षिक १० खर्ब रुपैयाँको निर्यात र १० प्रतिशत विदेशी लगानी प्राप्त गर्ने सम्भावना रहेकाे औँल्याएका थिए ।
नेपालपत्र संवाददाता