काठमाडौं, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा लाखौं रुपैयाँ घूस लेनदेनको डिल गरिएको अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गुप्ताले राजीनामा बुझाएका हुन्।
अनुसन्धानमा बाधक नभन्ने भन्दै गुप्ताले आफूमाथिको आरोपमाथि निष्पक्ष छानबिन होस् भन्ने हेतुले पदत्याग गरेको बताएका छन् ।
यसअघि सामाजिक सञ्जालमा भाइरल भइरहेको अडियो क्लिप फेक भएको गुप्ताले बताउँदै आएका थिए । अडियोबारे कुनै अनुसन्धान वा औपचारिक पुष्टि नभए पनि त्यसले राजनीतिक वृत्तमा हलचल मच्चाएको छ।
गुप्ताले राजीनामा स्वेच्छाले दिएको दाबी गरे पनि सत्तारूढ दल नेकपा एमाले र सत्ता साझेदार नेपाली काँग्रेसभित्रबाट दवाव परेको र सर्वसाधारणको आक्रोशले पनि उनको राजीनामामा भूमिका खेलेको अनुमान गरिएको छ। अडियो सार्वजनिक भएपछि पार्टी तथा सत्ता गठबन्धका उच्च तहका नेताबीच आकस्मिक छलफल भएको थियो।
राजीनामापछि प्रधानमन्त्री ओलीले गुप्ताको ठाउँमा नयाँ मन्त्री नियुक्त गर्ने सम्भावना छ। अर्कोतर्फ, अडियो प्रकरणका बारे सम्बन्धित निकाय वा सरकारले छानबिन गरी सत्यतथ्य खोजेर बाहिर ल्याउन कुनै प्रकिया अघि बढाउला भन्ने चासो सर्वत्र छ । यस प्रकरणले पुनः एकपटक नेपालमा सुशासन, पारदर्शिता र नैतिकतामा गम्भीर प्रश्न उठेको छ।
नेपालपत्र संवाददाता