हालै सार्वजनिक आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिप्रति उद्यमीव्यवसायी उत्साहित देखिएका छन्। व्यवसायिक तथा कर्पोरेट सेक्टरका छाता संगठनहरू नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स र बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल -सिबिफिनले अलग–अलग विज्ञप्तिमार्फत मौद्रिक नीतिको स्वागत गरेका हुन्।
नेपाल उद्योग परिसङ्घले मौद्रिक नीतिलाई आर्थिक गतिविधि बढाउने दिशामा सकारात्मक संकेत दिएको जनाएको छ। चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई उद्योगको प्रकृति र आम्दानी–भुक्तानी चक्रका आधारमा परिमार्जन गरिने तथा ग्राहकको क्रेडिट स्कोरका आधारमा कर्जा प्रवाहको नीतिलाई परिसङ्घले सराहना गरेको छ।
साना तथा मझौला उद्यमलाई लक्षित गर्दै ब्याजमा दिइने छुट, वैदेशिक रोजगारी र महिला लक्षित कर्जाको वर्गीकरण, र पूर्वाधार क्षेत्रमा डिबेन्चरमार्फत लगानी गर्न सक्ने व्यवस्था आर्थिक पुनःउत्थानमा सहयोगी हुने परिसङ्घको ठहर छ।
नेपाल चेम्बर अफ कमर्सले नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने गरी आएको जनाएको छ। ब्याजदर कोरिडोरमा गरिएको संशोधन, नीति दर घटाइएको, तथा निजी घर कर्जा सीमा दुई करोडबाट तीन करोड पुर्याइएको प्रावधानलाई चेम्बरले स्वागत गरेको छ।
चेम्बरले घरजग्गा तथा निर्माण व्यवसायमा पुनर्तालिकीकरण र कर्जा मूल्य अनुपात बढाउने व्यवस्थालाई अर्थतन्त्र सक्रिय बनाउने तत्वका रूपमा लिएको छ। ऊर्जा क्षेत्रमा कर्जाको ब्याज पुँजीकरणमा पुनरवलोकन गर्नुपर्नेमा पनि चेम्बरले जोड दिएको छ।
सिबिफिनले भने देशको सुषुप्त अर्थतन्त्रलाई चलायमान बनाउने सन्तुलित, उदार र समयसापेक्ष नीति आएको प्रतिक्रिया दिएको छ। बैंक तथा वित्तीय संस्थाको मनोबल बढाउने, कर्जा व्यवस्थापनलाई सहज बनाउने र पुँजी कोष सुदृढ गर्न नीति प्रभावकारी भएको सिबिफिनको ठहर छ। तीनवटै संस्थाले नीति कार्यान्वयनमा प्रभावकारिता र निरन्तर अनुगमनको अपेक्षा समेत गरेका छन्।
नेपालपत्र संवाददाता