अब सेवाग्राहीले हरेक बैंकमा छुट्टाछुट्टै केवाइसी विवरण अद्यावधिक गरिरहनुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत एकीकृत केवाइसी प्रणाली कार्यान्वयनको स्पष्ट खाका प्रस्तुत गरेको हो ।
नयाँ व्यवस्थाले अब कुनै एक बैंकमा केवाइसी विवरण अद्यावधिक गरेपछि अन्य बैंक तथा वित्तीय संस्थाहरूले सो विवरण राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत विद्युतीय रूपमा प्राप्त गर्न सक्नेछन् । सेवाग्राहीहरूलाई बारम्बार “केवाइसी अपडेट गर्नुस्” भन्ने आग्रह वा चेतावनी सुन्नुपर्ने छैन ।
राष्ट्र बैंकका अनुसार केवाइसी अद्यावधिक गरेका ग्राहकले अब विशेष पहिचान नम्बर (यु आइ एन) प्राप्त गर्नेछन् । कुनै पनि बैंक वा वित्तीय संस्थालाई ग्राहकको विवरण आवश्यक परेमा त्यही पहिचान नम्बर प्रयोग गरी केवाइसी डेटाबेस पहुँच गर्न सक्ने प्रणाली विकास गरिनेछ ।
विगतमा ग्राहकले एकभन्दा बढी बैंकमा खाता राख्दा प्रत्येक संस्थामा छुट्टाछुट्टै केवाइसी फारम भर्नुपर्ने, सो विवरण अद्यावधिक गर्नुपर्ने तथा समयमै अद्यावधिक नगरेमा सेवा अवरुद्ध हुने समस्याहरू व्यापक थिए । त्यसबारे निरन्तर गुनासो आएपछि राष्ट्र बैंकले केवाइसी प्रणालीमा आमूल सुधारको नीति अवलम्बन गरेको हो ।
नयाँ प्रणालीले डिजिटल बैंकिङ पूर्वाधार सुदृढ गर्दै, ग्राहक सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
नेपालपत्र संवाददाता