काठमाडौं, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को एघार महिनासम्म आर्थिक तथा वित्तीय अवस्थाको तथ्याङ्कले देशको समष्टिगत अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको छ। विशेषगरी शोधनान्तर स्थितिमा देखिएको उच्च बचत र विप्रेषण आप्रवाहमा भएको उल्लेखनीय वृद्धिले देशको मौद्रिक सन्तुलन र बाह्य क्षेत्र सुदृढ भएको पुष्टि गर्छ।
शोधनान्तर बचतमा उल्लेख्य वृद्धिः यस अवधिमा नेपालले रु. ४९१ अर्ब ४४ करोडको शोधनान्तर बचत गर्न सफल भएको छ। यो तथ्यांकले देशको बाह्य क्षेत्र सन्तुलन बलियो रहेको देखाउँछ, जुन विशेषतः आयातभन्दा निर्यात र विप्रेषणको सकारात्मक अन्तरद्वारा सम्भव भएको हो। यस्तो बचतले नेपाललाई विदेशी ऋण चुक्ता, विदेशी विनिमय सञ्चिति वृद्धी, र आयात खर्च व्यवस्थापन गर्न थप सहजता दिनेछ।
विप्रेषणमा दोहोरो अंकको वृद्धिः वैदेशिक रोजगारमार्फत् भित्रिएको वैदेशिक आप्रवाहले रेकर्ड कायम गरेको छ । विप्रेषणको वृद्धिदर नेपाली रुपैयाँमा १५.५ प्रतिशत र अमेरिकी डलरमा १२.७ प्रतिशत रहेको छ । जेठ महिनामा मात्रै रु १७६ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको छ ।
विप्रेषण वृद्धिले ग्रामिण अर्थतन्त्र, उपभोग वृद्धि, र बैंकिङ क्षेत्रको तरलता मजबुत पार्न मद्दत पुगेको छ। यसका साथै, आयात वृद्धिका बाबजुद पनि विदेशी विनिमय सञ्चिति १८ अर्ब ६५ करोड अमेरिकी डलर पुगेको छ, जुन साढे १० महिनाको आयात धान्न सक्ने अवस्था हो।
अन्य आर्थिक संकेतहरू
उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७२ प्रतिशतमा सीमित छ, जसले मूल्य स्थायित्व संकेत गर्छ।
निर्यातमा ७७.८ प्रतिशतको आश्चर्यजनक वृद्धि र आयातमा १३.१ प्रतिशतको वृद्धि दुवैले व्यापार क्षेत्रमा गति दिएको छ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप १२ प्रतिशतले र निजी क्षेत्रमा कर्जा प्रवाह ८.७ प्रतिशतले वृद्धि भएको छ।
सरकारी खर्च रु. १२८२ अर्ब ९४ करोड पुगेको छ भने राजस्व संकलन रु. १०१६ अर्ब ९ करोडमा सीमित रहेको छ।
नेपालपत्र संवाददाता