नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिना अवधिमा २१३ खर्ब ४३ अर्ब तरतला प्रशोचन गरेको छ । केन्द्रीय बैंकले वित्तीय बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न पटकपटक विभिन्न वित्तीय उपकरण प्रयोग गर्दै आएको छ । राष्ट्र बैंकद्वारा प्रकाशित आर्थिक वर्ष २०८१/ ८२ को जेठ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार सो अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत रु. २७ खर्ब ८४ अर्ब ८० करोड र स्थायी निक्षेप सुविधामार्फत रु.१८५ खर्ब ५८ अर्ब ७० करोड तरलता प्रशोचन गरिएको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार रु. २१३ खर्ब ४३ अर्ब ५० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ भने रु. २ अर्ब ७० करोड ओभरनाइट तरलता सुविधा उपयोग भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक–पटक गरी खुद रु. १९ खर्ब ०० अर्ब ८४ करोड तरलता प्रशोचन गरिएको थियो ।
बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप जम्माको तुलनामा न्यून मात्रमा ऋण प्रवाह हुँदा वित्तीय बजार अधिक तरलताको मारमा परेको छ । बैंकहरूले ऋण प्रवाह गर्न नसक्दा तरलता भने बढ्दै जाने अवस्थामा अर्थतन्त्र सुस्त हुनसक्छ । त्यसैले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यस्तो असन्तुलनलाई समयमै सम्हाल्ने प्रयास गर्नुपर्छ।
नेपालपत्र संवाददाता