हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) खुला गर्ने भएको छ। बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँ बराबरको एफपीओ ल्याउन लागेको हो, जसअनुसार ९२ लाख ५० हजार ४६९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन हुनेछ।
प्रत्येक कित्ता शेयरको अंकित मूल्य १०० रुपैयाँ र ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता, अर्थात् १,५७० रुपैयाँ बराबरको आवेदन दिनुपर्नेछ। अधिकतम आवेदन भने उपलब्ध सम्पूर्ण कित्तासम्म गर्न सकिनेछ।
एफपीओ ल्याउने कारण
हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ, जसमा ७२.९९% संस्थापक समूह र २७.०१% सर्वसाधारण समूहको स्वामित्व रहेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कुनै पनि बैंकले कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने कानुनी व्यवस्था रहेकोले सो प्रावधान पूरा गर्न बैंकले एफपीओ जारी गर्न लागेको हो।
आवेदन विवरण
-
एफपीओ खुल्ने मिति: २०८२ असार ३२
-
आवेदन दिने अन्तिम मिति: २०८२ साउन ४
-
पूर्ण आवेदन नपरेमा म्याद: साउन १४ गतेसम्म
-
न्यूनतम आवेदन: १० कित्ता
-
अधिकतम आवेदन: उपलब्ध कित्तासम्म
-
बिक्री प्रबन्धक: सिटिजन्स क्यापिटल लिमिटेड
नेपालपत्र संवाददाता