रसुवा, नेपाल–चीन नाकास्थित रसुवागढी आज बिहान भीषण बाढीले जनधनकाे क्षति छ। चीनको सीमावर्ती क्षेत्रमा परेको निरन्तर र भीषण वर्षाले भाेटेकाेशी खाेलामा बिहान ३ बजेदेखि सुरु भएको बाढीले इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारमा खटिएका असई लालबहादुर श्रेष्ठ, जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरासहित ९ जना नेपाली र ६ जना चिनियाँ नागरिक गरी १८ जना सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। हराइरहेका व्यक्तिहरूको खोजी कार्य जारी छ भने सुरक्षाकर्मीहरू उच्च सतर्कताका साथ खटिएका छन्।
बाढीका कारण बिहान ४ बजे नेपाल–चीन सिमाना जोड्ने ऐतिहासिक मितेरी पुल पूर्ण रूपमा बगाएको छ, जसले दुई देशबीचको आवागमन पूर्ण रूपमा बन्द गराएको छ। त्यस्तै, रसुवा गोसाईंकुण्ड गाउँपालिका–२ मा रहेको इभी चार्जिङ स्टेशनमा पनि ठूलो क्षति पुगेको छ भने ७–८ वटा इलेक्ट्रिक गाडी बगाएको छ। रसुवागढी भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको हुनसक्ने शंका गरिएकाे छ ।
स्थानीय प्रशासन, प्रहरी र उद्धार टोली हाल पूर्ण रूपमा परिचालित छन्। चिनियाँ भूभागमा अझै पनि वर्षा नरोकिएकाले बाढीको जोखिम कायमै रहेको र अन्य क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ। जिल्ला प्रशासन कार्यालयले जोखिमयुक्त क्षेत्र खाली गर्न आग्रह गर्दै राहत र उद्धार कार्य तीव्र पारिएको जानकारी दिएको छ।
रसुवागढी हाइड्रोपावरमा क्षति
बाढीले रसुवागढी हाइड्रोपावरमा पनि क्षति पुगेको छ । हाइड्रोपावरको ड्याम र क्याम्पमा क्षति पुगेको हो । क्याम्प बगाएपछि कर्मचारीहरु भागेर जंगलमा गएर बसिरहेको रसुवागढी जलविद्युत् केन्द्रको प्रशासन प्रमुख टीकानाथ पौडेलले जनाएका छन् । कर्मचारीहरुको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको र विद्युत् उत्पादन गृह भने सुरक्षित रहेको उनले जानकारी दिए।
नेपालपत्र संवाददाता