आइतबार, आश्विन १८ गते २०८३

बागमती प्रदेशको आर्थिक वृद्धिदर सुस्त, कृषि र सेवाक्षेत्रमा सुधारको संकेत


आषाढ १७, २०८२ मंगलबार
बागमती प्रदेशको आर्थिक वृद्धिदर सुस्त, कृषि र सेवाक्षेत्रमा सुधारको संकेत

 

बागमती प्रदेशको आर्थिक गतिविधिको अर्धवार्षिक समिक्षा (२०८१ पौष मसान्तसम्म) मा समग्र आर्थिक वृद्धिदर  सुस्त देखिएको छ। नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदन अनुसार २०८१ पुस मसान्तसम्म प्रदेशको समग्र आर्थिक वृद्धि दर ४.६ प्रतिशत मा सीमित भएको छ। यो अघिल्लो वर्षको ५.९ प्रतिशतभन्दा कम हो, जसले चालु आवमा उत्पादन वृद्धि अपेक्षाअनुसार हुन नसकेको संकेत गर्दछ।

कृषि क्षेत्रको योगदान सकारात्मक
कृषि क्षेत्रको वृद्धि दर ५.६ प्रतिशत पुगेको छ, जसले यो क्षेत्रलाई अर्थतन्त्रको आशाको केन्द्र बनाएको छ। यसले स्थानीय उत्पादन, खाद्य सुरक्षा र ग्रामीण जीवनस्तर उकास्न योगदान पुर्‍याइरहेको प्रतिवेदनमा उल्लेख छ।

उद्योग क्षेत्रमा मन्दीको छायाँ
उद्योग क्षेत्रको अवस्था खासै उत्साहजनक छैन। प्रतिवेदनअनुसार औद्योगिक वृद्धि दर ३.२ प्रतिशतमा सीमित रहँदा, पूर्वानुमानभन्दा कमजोर प्रदर्शन देखिएको छ। विद्युत आपूर्ति, कच्चा पदार्थको अभाव, र श्रमसम्बन्धी समस्या यसका कारक हुनसक्ने प्रतिवेदनले संकेत गरेको छ।

सेवाक्षेत्रमा सुधार
सेवाक्षेत्रमा भने ५.७ प्रतिशतको वृद्धिदर देखिएको छ। बैंकिङ, सञ्चार, पर्यटन र शिक्षाजस्ता सेवाहरूको विस्तारले यो वृद्धिमा टेवा पुर्याएको हो। यो क्षेत्रले भविष्यमा अझ सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रति व्यक्ति आय 
प्रतिवेदनअनुसार प्रति व्यक्ति आय रु. १ लाख ४७ हजार पुगेको छ, जुन गत वर्षको तुलनामा केही वृद्धि भएको हो।