आइतबार, आश्विन १८ गते २०८३

जीवन बीमा व्यवसायमा दोहोरो अङ्कले वृद्धि, बीमाशुल्क संकलन १ खर्ब ५४ अर्ब नाघ्याे


आषाढ १६, २०८२ सोमबार
जीवन बीमा व्यवसायमा दोहोरो अङ्कले वृद्धि, बीमाशुल्क संकलन १ खर्ब ५४ अर्ब नाघ्याे

 

जीवन बीमा व्यवसायले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा उत्साहजनक वृद्धि देखाएको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार, साउनदेखि जेठ मसान्तसम्मको अवधिमा १४ जीवन बीमा कम्पनीहरूले १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यसबीच १ करोड ३८ लाखभन्दा बढी सक्रिय बीमालेख जारी भएका छन् ।

बीमाशुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा छ। यसले २० लाखभन्दा बढी बीमालेखबाट ४१ अर्ब २ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दै बजारमा आफ्नो पकड बलियो बनाएको छ। दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १५ लाख २१ हजार बीमालेखमार्फत १८ अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ। तेस्रो स्थानमा रहेको एलआईसी नेपालले ६ लाख ८३ हजार बीमालेखबाट १७ अर्ब २४ करोड रुपैयाँ संकलन गरेको छ।

यसैगरी, हिमालयन लाइफले १५ अर्ब २२ करोड, सूर्यज्योति लाइफले ९ अर्ब ४५ करोड, राष्ट्रिय जीवन बीमाले ९ अर्ब ६४ करोड, एशियन लाइफले ७ अर्ब ८६ करोड, र सिटिजन लाइफले ६ अर्ब ३२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। सानीमा रिलायन्स, मेट लाइफ, प्रभु महालक्ष्मी, रिलायबल नेपाल, आइएमई, र सन नेपाल लगायत कम्पनीहरूले समेत उल्लेखनीय संकलन गरेका छन्।

यसै अवधिमा तीनवटा लघु जीवन बीमा कम्पनीहरूले पनि १ अर्बभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्। गार्डियन माइक्रो लाइफ, क्रेट माइक्रो लाइफ, र लिवर्टी माइक्रो लाइफले क्रमशः ४१ करोड, ३९ करोड र २८ करोड रुपैयाँ संकलन गरेका छन्।