काठमाडौं, नेपाल र माल्दिभ्सबीच माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन गराउने विषयमा समझदारी अन्तिम चरणमा पुगेको छ। बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा भएको भेटवार्तामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबीच विषयगत मस्यौदाबारे सकारात्मक छलफल भएको हो।
भेटमा मन्त्री पौडेलले माल्दिभ्सबाट प्राप्त मस्यौदामा नेपालले आवश्यक गृहकार्य गरिरहेको जानकारी गराउँदै चाँडै सम्झौता टुंगोमा पुग्ने आशा व्यक्त गरे। उनले एमबीबीएससँगै एमडी र एमएस तहमा पनि माल्दिभ्सका विद्यार्थीलाई नेपालमा भर्ना लिन सकिने तयारी भइरहेको बताए।
नेपालमा अध्ययन गर्ने विदेशी विद्यार्थीले नेपाली विद्यार्थीको अवसरमा असर नपारोस् भन्ने उद्देश्यले विशेष कोटाको व्यवस्था गरिने र सोबारे आवश्यक परामर्श भइरहेको मन्त्री पौडेलले उल्लेख गरे।
भेटकै क्रममा मन्त्री पौडेलले भेटमा माल्दिभ्समा काम गर्ने नेपाली नागरिकको संख्या बढिरहेको उल्लेख गर्दै उनीहरूले रकम नेपाल पठाउन कठिनाइ भोगिरहेको गुनासो राखेका थिए। माल्दिभ्सका राज्यमन्त्री गसिमले माल्दिभ्सको अर्थ मन्त्रालयसँग समन्वय गरेर समाधान खोजिने प्रतिवद्धता व्यक्त गरेकाे जनाइएकाे छ।
नेपालपत्र संवाददाता