काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित कोशी प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८१/८२ ले कोशी प्रदेशमा विविध क्षेत्रहरूमा आशाजनक सम्भावना देखिए पनि गम्भीर चुनौतीहरू पनि रहेको स्पष्ट पारेको छ। कृषिदेखि पूर्वाधार, पर्यटनदेखि उद्योगसम्मका सूचकले समग्रमा सकारात्मक गति देखाए पनि दीर्घकालीन विकासका लागि नीति, लगानी र जनशक्ति व्यवस्थापनमा सुधार आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ।
कृषि क्षेत्रमा सम्भावना र संकट
कोशी प्रदेशमा उपयुक्त समयमा वर्षा हुनाले वर्षे धानको उत्पादनमा वृद्धि हुने अनुमान छ । कृषकहरूमा हाइब्रिड मकैप्रतिको आकर्षण बढ्नु, फाैजी किरा नियन्त्रण, गहुँको तुलनामा मकै रोज्ने प्रवृत्तिले मकैको उत्पादन बढ्ने तर गहुँको उत्पादन घट्ने संकेत देखिएको छ। कफी र चिराइतो खेतीप्रति आकर्षण बढ्दो छ, जसले निर्यातयोग्य बालीको सम्भावना बलियो बनाएको छ।
तर, पहाडी भेगमा बाँदरको विकराल समस्याले कृषि उत्पादनमा प्रतिकूल असर पुर्याइरहेको उल्लेख छ। त्यस्तै, प्रतिकूल मौसमका कारण आँपजस्ता फलफूलमा ह्रास हुने सम्भावना छ। यद्यपि, भेटेरिनरी सेवा विस्तार, पशु नश्ल सुधार तथा रोग नियन्त्रण कार्यक्रममार्फत पशुजन्य उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।
उद्योग र व्यापारमा सुधारको संकेत
प्रदेशमा आन्तरिक मागमा आएको सुधार, भटमास तथा सूर्यमुखी तेलको मागमा वृद्धिलाई लक्षित गर्दै उद्योगहरूले औसत उत्पादन क्षमता बढाउने अनुमान गरिएको छ। साफ्टा सुविधा र भारतले नेपालका खाद्य वस्तुहरूको गुणस्तरलाई मान्यता दिनु चियाको निर्यात प्रवर्द्धनका लागि उल्लेखनीय उपलब्धि मानिएको छ।
यसले स्थानीय रोजगारी, निर्यात वृद्धि तथा विदेशी मुद्रा आर्जनमा प्रत्यक्ष योगदान पुर्याउने सम्भावना राख्छ। तर, यसका लागि गुणस्तरीय उत्पादन र अन्तर्राष्ट्रिय मापदण्डमा सुधारको निरन्तर प्रयास आवश्यक रहने प्रतिवेदनमा औंल्याइएको छ।
सेवा क्षेत्रको विस्तार र पर्यटन प्रवर्द्धन
कोशी पर्यटन वर्ष २०८२ ले ८२ वटा प्रमुख गन्तव्य पहिचान गरेसँगै आन्तरिक तथा बाह्य पर्यटक संख्यामा उल्लेखनीय वृद्धि हुने अनुमान गरिएको छ। साहसिक तथा मनोरञ्जनात्मक गतिविधिहरू—स्काईवाक, जीपलाइन, ¥याफ्टिङजस्ता क्षेत्रको विकाससँगै तारे होटल र क्यासिनो खोल्ने चलन पनि बढ्दै गएको छ। यसबाहेक, बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकमको वृद्धि र आधार दरको घट्दै गएकाले रियलस्टेट तथा निर्माण क्षेत्रलाई गति दिने देखिन्छ।
पूर्वाधारमा अवसर र श्रम संकट
पूर्वाधार क्षेत्र दीर्घकालीन रूपमा कोशी प्रदेशको सम्भावनायुक्त क्षेत्रका रूपमा उदाएको छ। विशेषतः हरित प्रविधिमा आधारित परियोजनाहरू—जस्तै, हरित हाइड्रोजन, यूरिया रसायन फ्याक्ट्री आदिले वातावरणमैत्री औद्योगिकीकरणमा योगदान पुर्याउने सम्भावना बोकेको छ। विराटनगर विमानस्थलको नयाँ टर्मिनल २०८२ मंसिरसम्म सम्पन्न हुने लक्ष्यसहित निर्माणाधीन अवस्थामा रहेको छ, जसले छिमेकी देशहरूसँग सिधा हवाई सम्पर्क विस्तार गर्न सक्नेछ। तर, प्रमुख चुनौतीको रूपमा विदेशिने युवाशक्तिका कारण दक्ष जनशक्तिको अभाव रहेको छ। साथै, परियोजनाहरू समयमै सम्पन्न नहुनु र लगानी कार्यान्वयनमा सुस्तता पनि गम्भीर विषय बनेको छ।
लगानी सम्मेलनले देखाएको आशा
कोशी लगानी सम्मेलन २०२५ मा प्रदेश सरकारले प्रस्तुत गरेका ९ पूर्वाधार परियोजनामा ३८.४१ अर्बको लगानी प्रतिबद्धता संकलन गर्न सफल भएको छ। यो आँकडाले निजी क्षेत्रको विश्वास वृद्धि र दीर्घकालीन पूर्वाधार विकासतर्फको आकर्षण देखाउँछ। तर यस प्रतिबद्धतालाई कार्यन्वयनमा रूपान्तरण गर्न नीति स्थिरता र संस्थागत समन्वय अपरिहार्य हुने देखिन्छ।
कोशी प्रदेशको आर्थिक गतिविधि अध्ययनले कृषि र पर्यटनको विविधीकरण, उद्योगको निर्यात क्षमतामा वृद्धिको संकेत, सेवा र पूर्वाधार क्षेत्रको विस्तारसँगै समग्र आर्थिक गति बढ्ने सम्भावना देखाएको छ । यद्यपि, बाँदर आतंक, मौसमी प्रभाव, जनशक्ति पलायन र नीति तथा कार्यक्रम कार्यान्वयनमा ढिलाइजस्ता चुनौतीले भने अवरोध ल्याउन सक्ने संकेत गरेको छ ।
नेपालपत्र संवाददाता