आइतबार, आश्विन १८ गते २०८३

चालु पुँजी कर्जामा लचिलो नीति: नयाँ संशोधनले ऋणीलाई राहत


आषाढ १०, २०८२ मंगलबार
चालु पुँजी कर्जामा लचिलो नीति: नयाँ संशोधनले ऋणीलाई राहत

काठमाण्डौ, नेपाल राष्ट्र बैंकले ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ मा संशोधन गर्दै  कर्जा भुक्तानीका लागि २०८४ असारसम्मको समयसीमा थप गरिदिएको छ। राष्ट्र बैंकको सो व्यवस्थाले सीमाभन्दा बढी चालु पुँजी कर्जा लिएका ऋणीले रकम भुक्तानीका लागि थप दुई वर्ष समय प्राप्त गरेका छन्। 

यसअघि त्यस्तो कर्जा २०८२ असार मसान्तसम्म समायोजन गरिसक्नु पर्नेमा अब २०८४ असार मसान्तसम्ममा मिलान गरे हुने भएको छ। अघि कायम  व्यवस्थाले ऋणीलाई मर्का परेको भन्दै उनीहरूले संशोधनको माग गर्दै आएका थिए ।

कर्जा भुक्तानी प्रक्रिया समेत सरलिकृत बनाइएको छ । यसअघि अर्धवार्षिक रुपमा भुक्तानी गर्न भनिएकोमा अब समान आवधिक किस्तामा भुक्तानी गर्न मिल्नेछ । जसले समयसमयमा समान रकमका किस्ता बुझाउनु पर्ने भन्ने बुझिन्छ ।

ग्राहकले समयअगावै कर्जा तिर्दा कुनै शुल्क लिनु नपर्ने व्यवस्था रहेका बारे भने हाल कुनै उल्लेख गरिएको छैन । राष्ट्र बैंकले भनेको छ,  ‘तर यस्तो कर्जामा यसअघि कायम कर्जा नोक्सानी व्यवस्था रकम कर्जा नियमित नभएसम्म फिर्ता गर्न पाइने छैन । यसरी गरिएको कर्जा समायोजनलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनर्तालिकीकरण वा पुनःसंरचना मानिने छैन ।’ 

नयाँ व्यवस्थाले ऋणी र बैंक दुवैलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।