आइतबार, आश्विन १८ गते २०८३

कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना


आषाढ ९, २०८२ सोमबार
कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

 

देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीको अवस्था रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम विभागले जनाएको छ।

सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थान र अन्य क्षेत्रका केही भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च–पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने उल्लेख गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुन सक्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्भावित भारी वर्षाका कारण नदीमा पानीको बहाव बढ्ने, बाढी, पहिरो र भूक्षयको जोखिम रहन सक्ने भएकाले स्वास्थ्य, कृषि, यातायात र जनजीवनमा पर्न सक्ने असरबाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।