बुधबार, भाद्र ३ गते २०८३

एलपी ग्यासको आयातमा वृद्धि: खपतसँगै पाँच प्रतिशतले बढ्यो आयात


आषाढ ८, २०८२ आइतबार
एलपी ग्यासको आयातमा वृद्धि: खपतसँगै पाँच प्रतिशतले बढ्यो आयात

चालु आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा खाना पकाउने एलपी ग्यासको आयात पाँच प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठसम्म ५७ अर्ब ३६ करोड ६६ लाख रुपैयाँ बराबरको पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात भएको छ। गत वर्ष सोही अवधिमा ५१ अर्ब ७६ करोड रुपैयाँ बराबरको चार लाख ८१ हजार मेट्रिक टन ग्यास आयात भएको थियो।

ग्यासको खपतमा भएको वृद्धिले आयात बढाएको देखिएको छ। नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा पनि ग्यासको प्रयोग बढ्दै गएकाले खपतमा वृद्धि भएको हो। विद्युत्को प्रयोग प्रवर्द्धन गर्ने सरकारी प्रयासका बाबजुद पनि ग्यासको माग घट्न नसकेको र आयात अझै बढिरहेको तथ्यांकले देखाएको छ।

घरायसी प्रयोजनसँगै व्यवसायिक प्रयोजनमा समेत ग्यासको प्रयोग हुने गर्छ। निगमले मासिक ४५ हजार मेट्रिक टनको ग्यास कोटा निर्धारण गरेको छ, र सोही अनुसार निजी क्षेत्रले भारतका रिफाइनरीहरूबाट ग्यास आयात गरिरहेका छन्। हाल मुलुकभर ५९ ग्यास उद्योगहरू सक्रिय छन् भने बजारमा ग्यासको खुद्रा मूल्य प्रति सिलिन्डर एक हजार ९१० रुपैयाँ कायम छ। राष्ट्रिय जनगणना २०७८ अनुसार देशभर ४४ प्रतिशत घरधुरीले खाना पकाउन ग्यास चुल्हो प्रयोग गर्ने गरेका छन्।