नेपालका हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघ र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाइलग (आइआरजीडीडी) बीच नेपाली हस्तकला क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यबाट मिति २०८२ आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल हस्तकला महासंघका अध्यक्ष रबिन्द्र शाक्य र आईआरजीडीडीकी अध्यक्ष तथा पूर्व राजदूत डा. शर्मिला पराजुली ढकालले समझ्दारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस समझ्दारीबाट नेपालको पहिचान र संस्कृतिको संवाहकको रुपमा रहेको नेपाली हस्तकलालाई विश्वब्यापी ब्राण्डको रुपमा विकास गर्न कुटनीतिक पहल र आवश्यक सहयोग पुग्ने जनाइएको छ । त्यसैगरि नेपाली हस्तकलाको प्रवर्धनका लागि कलाकार कालिगढहरुको क्षमता विकास अध्ययन, अनुसन्धान र नीतिगत संवादलाई अधिकतम प्रभावकारि बनाईने विषयमा पनि दुवै पक्षबाट प्रतिवद्धता जनाइएको छ ।
हस्तकला उद्योग व्यवसाय तुलनात्मक लाभ भएको क्षेत्र भएकोले यसको अधिकतम् प्रतिफल प्राप्त हुनु पर्ने कुरामा दुबै संस्थाको ऐक्यबद्धता रहेको विषय पनि समझ्दारी पत्रमा उल्लेख भएको छ । त्यसैगरि हस्तकला क्षेत्रमा सीप र प्रविधिको पुस्तान्तरण चुनौतीपूर्ण रहेकोले यसको संबोधनमा पनि दुवै संस्थाले सहकार्य गरि अघि बढ्ने समझदारी भएको छ ।
नेपाली हस्तकला क्षेत्रमा हाल प्रत्यक्ष र परोक्ष गरि ११ लाख व्यक्तिहरु संलग्न रहेका छन् । हाल ३६ विधा अन्तर्गत ८२ प्रकारका हस्तकला वस्तुहरु पहिचान गरिएका छन् । ती वस्तुहरु हाल विश्वका ६० देशमा औपचारिक र अनौपचारिक गरी रु.२२ अर्बको हाराहारीमा निर्यात व्यापार भईरहेको छ ।
नेपालपत्र संवाददाता