आइतबार, आश्विन १८ गते २०८३

वैदेशिक रोजगारीबाट फर्केर उद्यमी बनेका ५० प्रेरणादायी नेपाली


आषाढ ४, २०८२ बुधबार
वैदेशिक रोजगारीबाट फर्केर उद्यमी बनेका ५० प्रेरणादायी नेपाली

 

‘विदेशमा पसिना बगाउने मात्र होइन, फर्किएर स्वदेशमा अवसर सिर्जना गर्न पनि सकिन्छ।’ यही सन्देश बोकेको छ—दक्षिण कोरियाबाट फर्किएका ५० सफल नेपाली उद्यमीहरूको जीवनकथाले भरिएको पुस्तक ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ ले।

पुस्तक सार्वजनिक गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने, “विदेशमा आर्जन गरेको सिप, अनुभव र पुँजी स्वदेशमा उद्यममा रूपान्तरण गर्नेलाई सरकारले साथ दिनेछ।” उद्यमशीलतालाई आर्थिक समृद्धिको मूल आधार ठहर गर्दै कोरियाबाट फर्किएका नेपालीहरूले देखाएको साहस अरूका लागि पनि प्रेरणा बन्ने विश्वास उनले व्यक्त गरे । 

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले झन्डै एक लाख नेपालीले विगत दुई दशकमा कोरियामा श्रम गरेर फर्किएको उल्लेख गर्दै, ती अनुभव र सिपलाई नेपालमै उद्यममा बदल्ने समय भएको उल्लेख गरे । उनले कोरियाली सरकार उद्यमशीलतामा सहकार्य गर्न तयार रहेको उल्लेख गरे।

पुस्तकका लेखक शिवप्रसाद पोखरेलले ५० जना उद्यमीहरूको कथा सङ्कलन गर्दा आफूले कति उत्साह, संघर्ष र समर्पण देखेको अनुभव सुनाए। तीमध्ये उद्यमी सुरेशबहादुर क्षेत्री र धर्मराज जोशीले भने, “कोरियाको श्रम बजारले हामीलाई रोजगार मात्र दिएन, आत्मबल र आत्मनिर्भर बन्ने आँट पनि दियो।”

कार्यक्रमको विशेष क्षणमा, दक्षिण कोरियाबाट फर्किएर स्वदेशमा सफल उद्यम गरिरहेका ५० जना युवालाई सम्मान गरिएको थियाे ।