आइतबार, आश्विन १८ गते २०८३

वैदेशिक लगानीमा वृद्धि, कार्यान्वयन भने अझै चुनौतीपूर्ण


आषाढ ३, २०८२ मंगलबार
वैदेशिक लगानीमा वृद्धि, कार्यान्वयन भने अझै चुनौतीपूर्ण

 

काठमाडौँ, नेपालमा वैदेशिक लगानीको प्रतिवद्धता बढ्दो क्रममा देखिएता पनि प्रतिवद्धता अनुसारको लगानी भित्र्याउने पक्षमा भने अपेक्षित सुधार देखिएको छैन। उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा ६० अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको छ।

७१७ परियोजनामार्फत भएको उक्त प्रतिवद्धतामध्ये करिब ५० प्रतिशत सेवा क्षेत्रमा केन्द्रित छ भने ४० प्रतिशत पर्यटन क्षेत्रमा लगानीको आश्वासन दिइएको छ। उत्पादनमूलक, कृषि, सूचना प्रविधि, ऊर्जा र पूर्वाधार क्षेत्रमा पनि केही अंशमा लगानी प्रस्ताव गरिएको छ।

हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको १० महिनामा साढे १० अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी नेपाल भित्रिएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा तीन अर्ब ५५ करोड रुपैयाँले बढी हो। यसले नीतिगत सुधारले लगानी भित्रिने दरमा केही सकारात्मक प्रभाव पारेको संकेत गरे पनि प्रतिबद्धता अनुसारको कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको देखिन्छ।

उद्योगहरूको आकार हेर्दा अधिकांश प्रतिबद्धता साना उद्योगतर्फ केन्द्रित छन्, जसले देशको लघु व्यवसायलाई सशक्त बनाउन सक्ने सम्भावना बोकेको छ। यद्यपि कुल प्रतिबद्धतामध्ये थोरै मात्र लगानी भित्रिनु भने गम्भीर ध्यानाकर्षणको विषय हो, जसले प्रणालीगत कमजोरी र कार्यान्वयनको अपर्याप्तता औंल्याउँछ।

नयाँ कानुनी संरचनाको संशोधन र प्रक्रियागत सुधारले लगानीकर्ताको आकर्षण बढाए पनि भौतिक पूर्वाधार, पारदर्शिता र राजनीतिक स्थायित्व नबढाएसम्म वास्तविक लगानी भित्र्याउने लक्ष्य अपुरै रहने देखिन्छ।