नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकको खाता खोल्दा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको आधारमा खाता खोल्नुपर्ने व्यवस्था लागू गरेको पुनःस्मरण गराएको छ। वित्तीय चेतनाका लागि सन्देश राजी गर्दै बैंक तथा वित्तीय संस्थाले खाताधारकको राष्ट्रिय परिचयपत्र विवरण यकिन गरेर मात्र खाता खोल्नुपर्ने व्यवस्था २०८१ माघ १ गतेदेखि लागू रहेकाे राष्ट्र बैंकले भनेको छ ।
तर, विदेशमा बसेका नेपाली नागरिकले भने, अनलाइनमार्फत इजाजतप्राप्त संस्थामा खाता खोल्दा अन्य आवश्यक कागजातको आधारमा पनि खाता खोल्न सक्ने व्यवस्था गरिएको छ। यस्ता खाता खोल्दा खातावालले नेपाल फर्किएको ३५ दिनभत्रि सम्बन्धित बैंक वा वित्तीय संस्थामा राष्ट्रिय परिचयपत्र विवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी, अशक्त, असहाय, र हेर्न नसक्ने नागरिकहरूले पनि राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेक अन्य वैध कागजातको आधारमा खाता खोल्न वा वित्तीय कारोबार गर्न सक्नेछन्।
नेपाल राष्ट्र बैंकले वित्तीय समावेशिता र पारदर्शिता कायम गर्न यस्तो व्यवस्था लागू गरेको स्पष्ट पारेको छ। आर्थिक कारोबार सुरक्षित, विश्वसनीय र सबैको पहुँचमा पुर्याउने उद्देश्यले व्यवस्था गरिएको जनाइएको छ।
नेपालपत्र संवाददाता