काठमाडौं — चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (जेठ मसान्तसम्म) मा सरकारले १० खर्ब २७ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालयका अनुसार यो गत वर्षको सोही अवधिको तुलनामा ८८ अर्ब रुपैयाँले बढी हो। गत वर्ष सो अवधिमा ९ खर्ब ३९ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। जेठ महिनामात्रै ९४ अर्बभन्दा बढी राजस्व उठान भएको छ।
यद्यपि सरकारको राजस्व संकलन गति लक्ष्यअनुसार भने सन्तोषजनक देखिएको छैन। जेठसम्मको १२ खर्ब ३४ अर्ब ८५ करोड रुपैयाँ संकलन लक्ष्यको मात्र ८३.२२ प्रतिशत प्राप्त भएको हो। यदि असार महिनामा उच्च राजस्व संकलन भएन भने सरकारले लिएको १४ खर्ब १९ अर्बको लक्ष्य अपुग हुने देखिन्छ ।
राजस्व असुलीमा आंशिक सुधार भए पनि अपेक्षाअनुसारको प्रगति नहुनुको प्रमुख कारण आयातमा गिरावट, उपभोगमा मन्दी, निजी क्षेत्रको लगानीको न्यूनता र कर दायरा विस्तारमा कमजोरी रहेको बताइएकाे छ।
नेपालपत्र संवाददाता