बैंकिङ क्षेत्रलाई सुधार र सुदृढीकरण गर्नका भन्दै ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’ गठन गरिएको छ। नेपाल राष्ट्र बैंकले हालै गठन गरेको उक्त तीन सदस्यीय कार्यदलको संयोजकमा पूर्व गभर्नर डा रेवतबहादुर कार्की छन् भने सदस्यमा भुवनकुमार दहाल रहेका छन्। कार्यदलका सदस्य सचिव राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रहेका छन्।
कार्यदललाई एक महिनाभित्र निष्कर्षसहितको सुझाव पेश गर्न निर्देशन दिइएको छ। यस कार्यदललाई विशेष गरी निम्न महत्वपूर्ण विषयहरूमा सुझाव दिन जिम्मेवारी दिइएको छः
- बैंकिङ नीति र नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल) बनाउन, जोखिममा आधारित सुपरिवेक्षण प्रणालीलाई प्रभावकारी बनाउने तथा ग्राहकमैत्री बैंकिङ सेवा प्रवर्द्धन गर्ने उपायहरू।
- आर्थिक गतिविधिलाई पूर्ण रुपमा चलायमान बनाउन बैंकिङ क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिकाको विश्लेषण।
- ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक कदमहरू पहिचान गर्ने।
- बैंक तथा वित्तीय संस्थाहरूको गाभ्ने, प्राप्ति प्रक्रिया र त्यसपछिका उत्पन्न समस्याहरूको समाधानका लागि सिफारिसहरू तयार पार्ने।
- नेपाललाई अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट हटाउन बैंकिङ क्षेत्रको भूमिकाको स्पष्ट परिकल्पना गर्ने।
- पुँजी बजार विकासमा नेपाल राष्ट्र बैंकको समन्वयात्मक भूमिकाबारे सुझाव दिने।
नेपालपत्र संवाददाता