बुधबार, भाद्र ३ गते २०८३

म विश्वासी झोले अविचल सदा भक्त उनको


जेठ २५, २०८२ आइतबार
म विश्वासी झोले अविचल सदा भक्त उनको
म विश्वासी झोले अविचल सदा भक्त उनको
बफादारी घोडा सरह अति आशक्त उनको
म कारिन्दाजस्तै अधिक उनको दास पनि हुंँ
उनैले फेरेको कलुष मुटुको सास पनि हुँ ।१।
 
थिए जोगीजस्ता अघि अघि कतै दूर घरमा
पसे बाटो खोज्दै समयसँग लड्दै सहरमा
मिल्यो सत्ता कुर्सी छलकपटले बाहुबलले
सधैँ पूजा गर्छन् करकमल सम्झेर दलले ।२।
 
उफारेका मान्छे सडकतिर थाके कति मरे
हजारौँले छाडे मुलुक पनि अन्तैतिर सरे
बनेका छन् स्वामी खलक जति मात्रै अधिपति
ठुलो खाने धन्दा विषयसँग हुन्छन् सहमति ।३।
 
बने चिल्ला गाला महल पनि छन् उच्च उनका
विमानैले झार्छन् डलर गहना द्रव्य सुनका
त्यसैमा झुम्मिन्छन् अधिक दलका मालिकहरू
मजस्तै छन् झोले अघिपछि हुने सालिकहरू ।४।
 
चुहेको उब्रेको अलिकति मिलेको छ कनिका
विरोधी भै व्यर्थै किन अब कुरा गर्नु ननिका
नसाले लट्यायो जनित युगको चेतन पनि
कहाँ अल्पेका छन् युगपुरुष ढुङ्गेयुग मनि ।५।
 
सकून् ब्रह्माण्डै यो तर म अब झोले बनिसकेँ
दशै औँला जोडी म त हजुरको हो भनिसकेँ
मरे मर्छन् कोही शपथ अब तोडूँ म कसरी
प्रतिज्ञा निष्ठाको वचन अब छोडूँ म कसरी।६।
 
छ आँखामा पट्टी वरिपरि कतै हेर्दिन म ता
भयो झोलाभित्रै मुलुक पनि समृद्ध अब ता
मलाई सम्झिन्छन् भर अभरमा मालिक पनि
यसैमा धेरैका रगत पसिना छन् अझ पनि ७।
----------------------------------------
(सबैतिर झोलेको प्रसङ्ग चल्दैगर्दा यो कविता केही पुरानो)