काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा विद्युतीय सवारी साधन (इभी) चार्ज गर्न चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ। बैंकको कर्पोरेट कार्यालय, कमलादीमा स्थापना गरिएको ४० किलोवाट क्षमताको सिसिटू सिङ्गल गन चार्जिङ स्टेशनको बिहीबार एक कार्यक्रमका बीच समुद्घाटन गरिएको हो।
बैंकका सञ्चालक कृष्ण प्रसाद शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, र गाडी चार्ज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले उक्त चार्जिङ स्टेशनको संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
उक्त चार्जिङ स्टेशन बैंकमा आउने ग्राहक तथा कर्मचारीहरूले आफ्ना इभी गाडीहरू चार्ज गर्न सक्नेगरी सञ्चालनमा ल्याइएको हो। विद्युतीय सवारीको प्रयोग बढ्दै गएका कारण ग्राहकको सुविधाका लागि यो पहल गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा बोल्दै संचालक शर्माले बैंकले वातावरणमैत्री प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले चार्जिङ स्टेशन स्थापना गरेको बताए। उनले बैंक व्यवसाय विस्तारका क्रममा वातावरणमैत्री उपायहरूलाई प्राथमिकता दिइएको उल्लेख गरे।
त्यस्तै, नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार विरुवा रोपण गरिरहेको जानकारी दिए। उनले बैंकले वातावरण संरक्षण र जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्यले वातावरणमैत्री उत्पादनहरू ल्याउँदै आएको बताए। कार्यक्रममा बैंकका उच्च पदस्थ कर्मचारी र गाडी चार्ज प्रालिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नेपालपत्र संवाददाता