काठमाण्डाै । सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य तय गरेका छन् । वृद्धि दर लक्ष्य अघिल्ला दुई वर्षमा पनि ६ प्रतिशत नै रहेको भएपनि लक्ष्य हासिल हुन सकेन । आर्थिक वर्ष २०८०/८१ मा वृदिदर ३.८७ रह्यो भने चालु आर्थिक वर्ष २०८१/८२ मा ४.६ प्रतिशत मात्र हुने स्वयं अर्थमन्त्रीले बजेट भाषणका क्रममा उल्लेख गरे । आर्थिक वर्ष २०७९/८० मा त ८ प्रतिशतको लक्ष्य लिइएकोमा १.८६ प्रतिशत मात्रै वृद्धिदर हासिल भयो ।
यद्यपि लक्ष्य अनुसारको वृद्धिदर प्राप्त नभएपनि ३ वर्ष यता क्रमश वृद्धि दर बढ्दै नै गएको देखिन्छ । चालु वर्षको अनुमानित वृद्धिदर ४.६ वास्तविक रुपमा कायम भए आगामी वर्ष लक्ष्यको नजिक पुग्न करिब १.६ प्रतिशत थप वृद्धि हासिल गर्नुपर्ने देखिन्छ । जुन त्यति असम्भव लाग्दैन । यस हिसाबले लक्ष्य निर्धारण थोरै यथार्थमुखी भएकाे भान हुन्छ । तर लक्षित वृद्धि दर हासिल गर्नका लागि सकारात्मक र नकारात्मक दुवै परिदृश्य हेनुपर्ने हुन्छ ।
सकारात्मक पक्षलाई हेर्ने हो भने पछिल्ला तीन वर्षमा आर्थिक वृद्धिदर क्रमशः बढ्दो छ। यसले अर्थतन्त्र पुनरुत्थानको संकेत दिन्छ। यही प्रवृत्ति कायम रह्यो भने ६ प्रतिशतको वृद्धिदर हासिल गर्ने आधार बनिरहेको देखिन्छ। तर विगतमा जस्तै पूँजीगत खर्चको न्यून कार्यान्वयन, राजनीतिक अस्थिरता, निजी क्षेत्रको लगानी सुस्तता र वैदेशिक लगानी आकर्षणको कमी जस्ता कारण कायम रहे लक्ष्य भेट्न कठिन पर्ने सम्भावना उत्तिकै छ।
यदि सरकारले बजेटमा उल्लिखित नीतिगत सुधार, पूँजीगत खर्चको समयमै कार्यान्वयन, निजी क्षेत्रको उत्साहजनक संलग्नता, र वैदेशिक लगानी प्रवाह सुनिश्चित गर्न सक्यो भने यो लक्ष्य प्राप्त गर्न सकिने सम्भावना रहन्छ।
नेपालपत्र संवाददाता