बुधबार, भाद्र ३ गते २०८३

आर्थिक वर्ष २०८२/८३ को बजेट संसदमा पेश

जेठ १५, २०८२ बिहीबार
आर्थिक वर्ष २०८२/८३ को बजेट संसदमा पेश

काठमाण्डाै । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट सङ्घीय संसद् समक्ष पेश गरेका छन् ।नयाँ बानेश्वरमा सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट पढेर प्रस्तुत गरिरहेका छन् । यसअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आवको बजेट पारित गरेपछि संसदसामु मन्त्री पाैडेलले बजेट वक्तब्य प्रस्तुत गरेका हुन् । 

बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले सरकारको मुख्य प्राथमिकता अर्थतन्त्रको विस्तार र आर्थिक अवसर सिर्जना गर्ने, निजी क्षेत्रको सहभागिता बढाउने र लगानीको वातावरण सुधार गर्ने रहेको बताएका छन् । सम्पत्ति शुद्धीकरण निगरानी सूचीबाट हटाउँदै अर्थतन्त्रको विश्वसनीयता बढाइने, क्रेडिट रेटिङ सुधारमा ध्यान दिइने उनले जनाए । 

अध्यादेशमार्फत कानुनी संशोधन गरी निजी क्षेत्र उत्साहित भएको भन्दै निजी क्षेत्रलाई समृद्धिको संवाहक बनाइने उल्लेख गरे । सार्वजनिक र निजी लगानीको समन्वय गरी सार्वजनिक लगानीलाई प्रतिफलयुक्त क्षेत्रमा केन्द्रित गरिने, निजी क्षेत्रको पुँजी र प्रविधि आकर्षित गर्दै गुणस्तरीय आर्थिक क्रियाकलाप प्रवर्द्धनगर्ने, आर्थिक वृद्धि हुने क्षेत्रमा सुधार गर्दै निजी लगानीमैत्री वातावरण बनाइने मन्त्री पौडेलले जनाए । 

उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन क्रमशः लागू गर्दै लैजाने, कर प्रणाली सुधार, पारदर्शिता र प्रशासनिक दक्षता अभिवृद्धि गर्ने उनले बताए। वैदेशिक रोजगारीबाट फर्किएका सिपयुक्त युवालाई उद्यमशील बनाउने, स्वदेशमा रोजगारी र उद्यमशीलताको अवसर प्रदान गर्ने गर्नुका साथै सकारात्मक आर्थिक मनोवृत्ति निर्माण गर्ने ध्येय बजेटको रहेको उनले उल्लेख गरे ।