आइतबार, आश्विन १८ गते २०८३

‘मौद्रिक नीति कार्यान्वयन सन्तोषजनक तर निजी क्षेत्र तर्फ कर्जा प्रवाह साेचनीय’


जेठ १३, २०८२ मंगलबार
‘मौद्रिक नीति कार्यान्वयन सन्तोषजनक तर निजी क्षेत्र तर्फ कर्जा प्रवाह साेचनीय’

 


नेपाल राष्ट्र बैंकले मौद्रिक स्थिरता कायम राख्न अपनाएको रणनीति र नीतिहरू चालु आर्थिक वर्षमा अपेक्षित रूपमा कार्यान्वयन भएका जनाएकाे छ । चालु वर्ष २०८२/०८२ को माैद्रिक नीतिकाे तेश्राे त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले मूल्यवृद्धि नियन्त्रण, विनिमय सञ्चिति सुदृढीकरण, तरलता व्यवस्थापन र नियामकीय सुधारहरू सन्तोषजनक रूपमा अगाडि बढिरहेका छन्। निजी क्षेत्रमा  जाने कर्जाको वृद्धिदर लक्ष्यभन्दा तल रहेकोले आर्थिक गतिशीलताको विषयमा भने सतर्कता अपनाउनुपर्ने जनाएकाे छ। 

मुद्रास्फीति नियन्त्रणमा
मौद्रिक नीति अन्तर्गत मुद्रास्फीति ५ प्रतिशतको हाराहारीमा राख्ने लक्ष्य राखिएको थियो, जसअनुसार चालु आर्थिक वर्षको नौ महिनाको औसत उपभोक्ता मुद्रास्फीति ४.५७ प्रतिशत मात्र रहेको छ। यसले मूल्य स्थिरता कायम गर्न मौद्रिक नीति प्रभावकारी भएको देखाउँछ।

वैदेशिक विनिमय सञ्चिति सुदृढ
चालु खाता र शोधनान्तर बचत उच्च रहेकाले विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा वृद्धि भएको छ। चैत २०८१ सम्ममा सञ्चिति १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ, जुन मौद्रिक नीतिको लक्ष्यभन्दा दोब्बर बढी हो।

मुद्राप्रदाय र निजी क्षेत्रको कर्जामा मध्यम वृद्धि
विस्तृत मुद्राप्रदायमा १२ प्रतिशतसम्म र निजी क्षेत्रमाथिको दावीमा १२.५ प्रतिशतको प्रक्षेपण गरिएको भए तापनि वास्तविक वृद्धिदर क्रमशः ११.६ प्रतिशत र ८.१ प्रतिशत मात्र देखिएको छ। यसले कर्जामा अपेक्षित गतिमा वृद्धि नभएको संकेत दिन्छ।

खुला बजार कारोबार र ब्याजदर व्यवस्थापन
खुला बजार कारोबार थप प्रभावकारी बनाइएको छ। अन्तरबैंक दर ब्याजदर करिडोरभित्रै ३.०० प्रतिशतमा कायम गरिएको छ। तरलता प्रशोचनका लागि १७१ खर्बभन्दा बढीको कारोबार गरिएको छ, जसले बैंकिङ प्रणालीमा तरलता सन्तुलनमा सहयोग पुर्‍याएको देखिन्छ।

चुनाैतिहरू

  • समीक्षाले निजी क्षेत्रतर्फको कर्जाको वृद्धि अपेक्षाअनुसार नभएको स्वीकार गरेकाले आर्थिक क्रियाकलापमा पर्याप्त गति नआएको संकेत दिन्छ।

  • मुद्राप्रदाय विस्तार लक्ष्यभन्दा कम रहेको छ।  मुद्राप्रदायमा विस्तार कम हुँदा उत्पादन तथा लगानी विस्तार प्रभावित हुन सक्ने सम्भावना रहन्छ।

  • अपेक्षाकृत कम कर्जा वृद्धि दरले व्यवसाय तथा उद्योगमा तरलता अभाव, लगानीमैत्री वातावरणको अभाव वा बैंकहरूको कर्जा प्रवाहमा कडाइ जस्ता समस्या रहेकोतर्फ इंगित गर्छ । 
  • मौद्रिक नीतिका कार्यान्वयन भएको भएपनि त्यसको प्रत्यक्ष प्रभावहरू – जस्तै रोजगारी सिर्जना, लगानी विस्तार, उत्पादन वृद्धिमा कस्तो असर पर्‍यो भन्ने विषयमा विस्तृत मूल्यांकनको भने अभाव देखिएको छ।
  • विदेशी विनिमय सञ्चितिमा अत्यधिक वृद्धि भएको छ । हाल कायम विदेशी विनिमय सञ्चितिले १४।२ महिनाको आयात धान्न सक्ने अवस्थामा पुगेकोले सतही रूपमा राम्रो देखिए पनि यसले आयात घटेको र त्यससँगै आन्तरिक माग तथा आर्थिक गति कमजोर भएको संकेत सँगै दिएको छ । 
  • निजी क्षेत्रमा कर्जा वृद्धि नभएको, मुद्राप्रदाय अपेक्षाकृत कम भएको, र विदेशी विनिमय सञ्चितिमा अत्यधिक संचय देखिनुले आर्थिक चक्र सक्रिय हुन नसकेको सम्भावना देखिन्छ।
  • मौद्रिक नीति कार्यान्वयनमा मूल्य स्थिरता र सञ्चिति सुदृढीकरणमा सफलता देखिए पनि कर्जा प्रवाह, निजी क्षेत्रको सक्रियता, र समग्र आर्थिक गतिशीलता प्रवर्धनमा कमजोरीहरू देखिन्छन्, जसलाई सुधार नगरे आर्थिक वृद्धिमा अवरोध आउन सक्ने जोखिम रहन्छ।