यस आर्थिक वर्षको १० महिनामा ५७ अर्बमाथिको विदेशी लगानी (एफडीआई) प्रतिवद्धता आएको छ । भन्सार विभागका अनुसार यस आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा कूल ५७६ परियोजनाका लागि ५७ अर्ब ६ करोड ७६ लाख रुपियाँ एफडीआई स्वीकृत भएको छ ।
जसमध्ये ४६ करोड ७२ लाख रुपियाँ बराबरको लगानी प्रतिवद्धता यसै वैशाख महिनामा प्राप्त भएको हो । कृषि, पर्यटन, उद्योग, सेवा तथा सञ्चार क्षेत्रमा लगानी प्रतिवद्धता आएकोमा समीक्षा अवधिमा सबैभन्दा बढी परियोजना आईटी क्षेत्रमा र ठूलो लगानी पर्यटन क्षेत्रमा आएको विभागको तथ्यांकले देखाएको छ ।
विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्ममा होटल तथा पर्यटन क्षेत्रमा कूल २२३ परियोजनाका लागि २१ अर्ब ३३ करोड ७५ लाख रुपियाँ एफडीआई लगानी प्रतिवद्धता प्राप्त भएको छ । यसैगरी आईटी क्षेत्रमा २३५ परियोजनाका लागि एक अर्ब ३१ करोड ८८ लाख रुपियाँ बराबरको लगानी प्रतिवद्धता प्राप्त भएको विभागले जनाएको छ ।
नेपालपत्र संवाददाता