इन्द्रनारायण सुबेदी
(भुजङ्गप्रयात)
----------------------
बिनाचाकरी वा बिनाभक्तिभाव
कहाँ पर्छ सत्सिर्जनाको प्रभाव
व्यवस्था छ जस्तो अवस्था छ उस्तै
सरेको छ साहित्यमा त्यो दुरुस्तै ।१।
लबीमा बसे हातमा मिल्छ केही
सबैको त्यतैतर्फ जाँदैन देही
दुई हात जोडी सधैँ कीर्ति गान
नगर्नेहरूको कहाँ हुन्छ मान ।२।
गरी नित्य भर्ती मिलाएर सेट
रहे चाकरी आपसी ढोगभेट
तिनैबाट छानिन्छ मूर्धन्य स्रष्टा
तिनै बन्दछन् उच्च सर्वज्ञ द्रष्टा ।३।
छिचोल्नै नसक्ने छ जो वर्णमाला
छ डङ्का अनौठो उसैको हवाला
उपल्ला र तल्ला मिले बन्छ काम
कहाँ मिल्दथ्यो साधनाको इनाम ।४।
बरालिन्छ कोही ठुलो साधनामा
रही नित्य स्वाधीन आफ्नैपनामा
भने त्यो अनौठो भयो आजभोलि
हियाइन्छ हेपिन्छ बिक्दैन बोली ।५।
बने सिर्जना न्यायको पक्षपाती
निमोठिन्छ वा बन्छ त्यो आत्मघाती
पछौटे कसैको कि झोले कि दास
नबन्दा कहाँ फेर्न पाइन्छ सास ।६।
यहाँ खोजको सोचको छैन खाँचो
छ कुर्सी जहाँ घुम्छ सत्ता र साँचो
त्यहीँ हात मल्नेहरूको समाज
पुरस्कारका खातमा गर्छ राज ।७।
----------------------
२०८२ ज्येष्ठ १ गते, इलाम
इन्द्र नारायण सुवेदी