काठमाडौं — टेरामक्स खरिद प्रकरणमा ठूला सरकारी ओहोदामा बसेका व्यक्तिहरूको संलग्नता पुष्टि गर्दै पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विशेष अदालतमा दायर गरिएको मुद्दामा बस्नेतसँगै दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, अन्य उच्चपदस्थ अधिकारी र दुई परामर्शदाता कम्पनीसमेत मुछिएका छन्। आयोगले उनीहरूविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग गरेको छ — जुन पछिल्लो समय सार्वजनिक क्षेत्रको सबैभन्दा ठूलो आर्थिक अनियमितता मध्येको एक हो।
योग्यता नपुगेको कम्पनीलाई टेरामक्स प्रोजेक्ट दिइएको, सर्वोच्चको आदेशसमेत बेवास्ता
आयोगका अनुसार टेरामक्स खरिद प्रक्रियामा योग्यता नपुगेको प्रस्तावदाता कम्पनीको पक्षमा झुटा प्रतिवेदन तयार पारिएको, साथै सर्वोच्च अदालतको आदेशअनुसारको कानुनी प्रक्रिया बेवास्ता गरिएको आरोप छ। यसरी गरिएको निर्णयले राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको अख्तियारको भनाइ छ।
को–को मुछिए टेरामक्स प्रकरणमा
प्रतिवादी सूचीमा बस्नेत र झासँगै दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष पुरुषोत्तम खनाल, तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, निर्देशक विजयकुमार राय, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोट र अच्युतानन्द मिश्र, निर्देशक सुरेन्द्रलाल हाडा, दीपेश आचार्य र सन्दीप अधिकारी छन्।
त्यस्तै, परामर्शदाता कम्पनी भ्यानराइज सोल्युसन्सका सीईओ जमल अनोन्ती र स्थानीय एजेन्ट कम्पनी कनेक्सन ट्रेड प्रालिका अध्यक्ष दिलीपकुमार गुरुङ र निर्देशक तेजप्रसाद खरेललाई समेत मुद्दामा समावेश गरिएको छ।
नेपालपत्र संवाददाता