आइतबार, आश्विन १८ गते २०८३

जेठ महिनामा वाणिज्य बैंकहरूको व्याजदर स्थिर, केहिले गरे सामान्य हेरफेर


बैशाख ३१, २०८२ बुधबार
जेठ महिनामा वाणिज्य बैंकहरूको व्याजदर स्थिर, केहिले गरे सामान्य हेरफेर

काठमाण्डौ । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । जसमा अधिकांश बैंकले ब्याजदर यथावत् राखेका छन् भने केही बैंकले सामान्य समायोजन गरेका छन्। विशेषगरी मुद्दती निक्षेपमा कायम ब्याजदर स्थिर रहेको छ।

वैशाखको तुलनामा जेठमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.०२ प्रतिशतले घटेर ५.९५ प्रतिशत पुगेको छ। संस्थागत निक्षेपतर्फ भने औसत ब्याजदर ०.०१ प्रतिशतले बढेर ४.३७ प्रतिशतमा पुगेको छ।

एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जेठ महिनाका लागि ब्याजदरमा परिवर्तन गरेका छन्। एभरेष्ट बैंकले व्यक्तिगत निक्षेपमा ब्याजदर ०.०३ प्रतिशत बढाएर ६.६४ प्रतिशत र संस्थागत निक्षेपमा ५.६४ प्रतिशत पुर्‍याएको छ। नेपाल बैंकले व्यक्तिगततर्फ ब्याजदर ०.३० प्रतिशत बढाएर ५.४५ प्रतिशत बनाएको छ, संस्थागततर्फ भने अघिल्लो महिनाको दर कायम राखेको छ। सानिमा बैंकले ब्याजदर व्यक्तिगततर्फ ०.३८% बढाएर ६.३३ प्रतिशत र संस्थागततर्फ ०.३० प्रतिशत बढाएर ४.५० प्रतिशत पुर्‍याएको छ।

केहि बैंकहरूले भने ब्याजदर घटाएका छन् । कुमारी बैंकले व्यक्तिगततर्फ ०.०१ प्रतिशत घटाएर ५.९१ प्रतिशत र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदर तोकेको छ। सिद्धार्थ बैंकले ब्याजदरमा व्यक्तिगततर्फ ०.२५% घटाएर ५.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत बनाएको छ। त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  सबैभन्दा ठूलो कटौती गर्दै व्यक्तिगततर्फ ब्याजदर १ प्रतिशत घटाएर ५.५ र संस्थागततर्फ ०.०६ प्रतिशत घटाएर ४ प्रतिशत कायम गरेको छ।