शुक्रबार, कार्तिक ७ गते २०८३

कस्तो स्वर्ग रहेछ पुग्न जिउँदै सक्तैन कोही किन


बैशाख २४, २०८२ बुधबार
कस्तो स्वर्ग रहेछ पुग्न जिउँदै सक्तैन कोही किन
कस्तो स्वर्ग रहेछ पुग्न जिउँदै सक्तैन कोही किन
गर्छन् रे यमराज निर्णय स्वयं झर्छन् धरामा लिन
जोखी पाप र पुण्यका फलहरू गर्छन् उनी फैसला
त्यो न्यायालयमा बसेर उनको कस्तो छ जोख्ने कला ।१।
 
गर्छन् वेद पुराणले दिनदिनै व्याख्या बडो सुन्दर
पुग्छन् मृत्यु पछाडि मानिसहरू त्यो कल्पनाको घर
मान्छेको परिकल्पना हृदयको विश्वास हो यो कति
सित्यैँ पुग्न सकिन्न त्यो मुलुकमा दुर्लभ्य हो यो अति ।२।
 
थुप्रै भौतिक शास्त्र छन् भुवममा विज्ञान छन् ज्ञान छन्
छन् अन्वेषणका अनेक नमुना शास्त्रीय उद्यान छन्
योभन्दा पर स्वर्गलोक छ कहाँ भिन्नै अनौठो घर
के धर्तीसरि पूज्य रम्य रसिलो त्यो लोक नै हुन्छ र ।३।
 
जो जो ढुक्क निदाउँछन् र सपना देख्छन् सुनौला यहीँ
इर्ष्या द्वेष रहन्न शान्त मनले आनन्द लिन्छन् यहीँँ
खुल्छन् मानवता समुन्नत बनी सद्भाव मैत्रीपन
यै देवालय बन्न सक्छ धरती यै बाग हो नन्दन ।४।
 
पानी साबुनले बनाउँछ सफा धोएर हाम्रो तन
गीता सार यथेष्ट बन्छ भवको सम्पूर्ण मैलो धुन
बन्छन् मानिस एक एक जब ती चैतन्यले निर्मल
दीक्षा स्वच्छ विचार स्वच्छ रहँदा त्यै स्वर्ग हो उज्ज्वल।५।
 
जे निर्माण छ सृष्टिमा भुवनको त्यो नै अलङ्कार हो
यो अस्तित्व मनुष्य जीव जडको स्वामित्वको सार हो
मेरो होइन यो चराचर जगत् हो यो सबैको घर
छाडे एकल आधिपत्य सजिलै यो स्वर्ग हो सुन्दर ।६।