बुधबार, भाद्र ३ गते २०८३

जान्या बुझ्न्याको जिब्रोले सत्य बोल्दा विपत आयो भन्या अक्षरबाट बोल्नुपर्छ, मनको सत्य बात बोल्न अक्षर चलाईरहनु पर्छ.... 🖋️📓 : पहलमान सिंह स्वाँर


बैशाख २४, २०८२ बुधबार
जान्या बुझ्न्याको जिब्रोले सत्य बोल्दा विपत आयो भन्या अक्षरबाट बोल्नुपर्छ, मनको सत्य बात बोल्न अक्षर चलाईरहनु पर्छ.... 🖋️📓 : पहलमान सिंह स्वाँर
 
पाली साहित्यमा सर्वप्रथम ‘अटलबहादुर’ नाटक रचना गरेर पहिलो नाटककारको कीर्तिमानी श्रेय पहलमान सिंह स्वाँर (वि.स.१९३५–१९९१) ले पाए । ठूलठूला अक्षर, पुरानो लेखनशैलीको, पचासौं वर्षको धुँवा लागेर मैलो पाना भएको त्यो दुःखान्त नाटकको ‘थोत्रो किताप’ किशोरावस्थामा ७–८ कक्षाको विद्यार्थी हुँदा अभिरुचिका साथ गाउँमै पढेको थिएँ।
अछामको तत्कालीन कुटिल शासकीय परिस्थितिको (वि.सं.१७२५ देखि १७३५ को बीचमा डाेटी र अछामकाे बीचमा पूर्वी चाैकी गर्खा सेरोफेरोमा भएको घटनाचक्रको) विषयवस्तुमाथि यो नाटक लेखिएको हो। ३ भाग र १७ दृश्य बोकेको, १९६२ सालमा प्रकाशित यो नाटक सन् १९०९ (वि.स.१९६६) मा दार्जिलिङ्गमा पहिलोपटक मञ्चन भएर यसैबाट नेपाली नाटक मञ्चनको परम्परा पनि शुरू भएको पाइन्छ।
इतिहासअनुसार अछामका प्राचीन राजा श्रीमोर शाहका कान्छा छोरा बाँकाबीरको अगुवाइमा सुदूरपश्चिममा विद्रोह हुँदा जङ्गबहादुरको आदेशद्वारा वि.सं. १९०६ मा बाँकावीर (बलदेव शाही) काटिएका थिए । के.पी.ओलीले नेपालको पहिलो सहिद लखन थापा होइनन्, बाँकावीर हुन् भनी गरेको सार्वजनिक दावीको सन्दर्भ पनि यही हो ।
बाँकावीरकै राजवंशको काजी खलकका सन्तति पहलमानसिंह स्वाँर नेपाली भाषाका प्रथम नाटककारका साथै कविता, निबन्ध, अनुवाद लगायत ३२ वटा प्रकाशित विभिन्न कृतिका अमर स्रष्टा बने । डोट्याली भाषाको अतिरिक्त हिन्दी, उर्दू, फारसी ज्ञाताका साथै ‘लालुभागा’ नामक गुजराती नाटकलाई अछामी भाषामा अनुदित गरेका हुनाले गुजरातीका पनि जानकार रहेछन् भन्ने बुझिन्छ ।
सात दाजुभाईमध्येका कान्छा पहलमानसिंह अछाम जिल्लाको ‘रिडीकोट’ मा जन्मे । प्रारम्भिक शिक्षा रिडीकोटमै अछामी पण्डितहरूबाट सुरू भयो । स्वाध्यायबाटै विभिन्न भाषा र साहित्यका जानकार बने। अद्भुत प्रतिभाकै कारणले १९५१ सालमा वीरशमशेरबाट १६ वर्षे स्वाँरले ‘लप्टन’ पदवी सहितको सरकारी जागीर पाए । तर राणाकालीन तिकडम, षड्यन्त्र र जालसाजीमा परेका स्वाँरले २ वर्ष नबित्दै जागीरबाट हात धोएर निर्वासित हुनुपरेछ ।
भारत उत्तर प्रदेशको सिंघाईमा निर्वासित रहँदा उनले कपडा उद्योग पनि चलाए ।डोटी राजाको पालामा डाेटी राज्यको भाग सिंघाई एकीकरण गर्दा नेपालमा गाभिए पनि सुगाैली सन्धिमा भारतकाे उत्तर प्रदेश लखिमपुर खिरी जिल्लामा पर्छ।
तत्कालीन समाजमा प्रचलित बालबिबाह, बहुबिबाह, छुवाछुत, जातपात जस्ता कलङ्कपूर्ण कुप्रथाका विरोधी र समाज सुधारक पनि थिए पहलमान सिंह । उनको नामबाट पुरस्कार कोष, कैलालीमा पहलमानपुर गा.बि.स., विद्यालय, सिलगढी–साँफे सडकलाई पहलमान सिंह मार्ग नामकरण गरिएको छ ।
वि.सं. १९९१ सालमा औलो (मलेरिया) लागेर कैलाली जिल्लास्थित आफैंले बसाएको बस्ती– पहलमानपुरको आमवासमा यी बहुमुखी प्रतिभा र गुणीको देहान्त भयो।
पहलमान सिंह स्वाँरले शुभारम्भ गरेको नाटक लेखन मोतीराम भट्ट, शम्भुप्रसाद ढुङ्गेल, बालकृष्ण सम, पुष्कर शम्शेर, गोविन्दबहादुर मल्ल गोठाले, भीमनिधि तिवारी, गोपालप्रसाद रिमाल, हरिप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी, महेन्द्र मलंगिया, अभि सुवेदी, अशेष मल्लसम्म आईपुग्दा यो विधामा परिपक्वता आएको छ । तर आजकाल नाटक पुस्तकमा पढिँदैन स्टेजमा हेरिन्छ मात्र ।