तिम्रा दुश्मन होइनन् गुरुहरू डन्डा नबर्साउनू
बोल्छन् पाउनुपर्छ बोल्न सबले झम्टी नतर्साउनू
थुन्दैछौ हतियारले दिनदिनै आवाजलाई किन
देऊ ए सरकार ! कानुन छिटो पर्दैन सत्ता दिन ।
आफ्नै बोलकबोलमा नअडिने ए छद्मवेशी छली
देखे शिक्षकवर्गले जब सबै तिम्रा कुरा नक्कली
साँच्चै धैर्य टुटाइयो सडकमा ओर्लेर आए जब
यो उद्दण्ड अमानवीय घटना हिंसा चलायौ तब ।२।
तानाशाह प्रवृति यो हिटलरी अन्याय यो ज्यादती
जिम्मेवार स्वयं बनी सडकमा दङ्गा उराल्छौ कति
देऊ न्याय र खोल यो मुलुकका सम्पूर्ण विद्यालय
बाटो खोल निकासको र त्यसमै होला सबैको जय।३।
मेरा बन्दुकले दबाउँछु सबै विद्रोह भन्छौ भने
यौटा बौद्धिक भेल सागर त्यसै सामान्य ठान्छौ भने
त्यो अन्धोपन दम्भ त्यो जबरको त्यो मुर्खता त्यो हठ
बन्ला भोलि समाल्न नै नसकिने ज्वालामुखी सङ्कट ।४।
इन्द्र नारायण सुवेदी