आइतबार, आश्विन १८ गते २०८३

मुस्ताङमा ३३ केभी प्रशारणलाइन विस्तारले गति लियो


बैशाख १५, २०८२ सोमबार
मुस्ताङमा ३३ केभी प्रशारणलाइन विस्तारले गति लियो


मुस्ताङ जिल्लामा ३३ केभी प्रशारणलाइन विस्तारको काम तीव्रगतिमा अघि बढेको छ। नेपाल विद्युत् प्राधिकरणले थासाङ गाउँपालिका–२ कोवाङदेखि लोघेकर दामोदरकुण्ड गाउँपालिका चराङसम्म १०३ किलोमिटर दूरीमा ३३ केभी ट्रान्समिसन लाइन निर्माण गरिरहेको छ।

हाल उपल्लो मुस्ताङमा ११ केभी क्षमताको लाइनमार्फत विद्युत् आपूर्ति हुँदै आएको भए पनि, लामो दुरी र सीमित क्षमताका कारण बारम्बार विद्युत् अवरोध हुँदै आएको थियो। समस्याको दीगो समाधानका लागि प्राधिकरणले ३३ केभी नयाँ लाइन विस्तार गर्दै ११ केभी प्रणाली विस्थापन गर्न थालेको हो।

यस परियोजनाका लागि प्याराडाइज हुलास जेकेबी जेभीसँग २७ करोड ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ। कोवाङदेखि चैले र चैलेदेखि चराङसम्म दुई खण्डमा सबस्टेशन निर्माण हुँदैछ। अहिले पोल गाड्ने काम ९५ प्रतिशत पूरा भइसकेको र तार तान्ने कार्य तीव्र गतिमा भइरहेको छ।

थासाङ–जोमसोम खण्डमा तार तान्ने काम सम्पन्न भइसकेको छ भने बाँकी स्थानमा पनि मौसम अनुकूल रहेकाले छिट्टै कार्य सम्पन्न गर्ने तयारी भएको छ। सन् २०२५ जुलाईभित्र काम सम्पन्न गरी प्राधिकरणलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको छ।

सबस्टेशन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन समेत सकिएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिएका छन्।