आइतबार, आश्विन १८ गते २०८३

विकास, स्थायित्व र नवप्रवर्तनका लागि राष्ट्र बैंक प्रतिवद्ध छः का.मु. गभर्नर ढुंगाना


बैशाख १४, २०८२ आइतबार
विकास, स्थायित्व र नवप्रवर्तनका लागि राष्ट्र बैंक प्रतिवद्ध छः का.मु. गभर्नर ढुंगाना

 

नेपाल राष्ट्र बैंककी कायममुकायम गर्भनर नीलम ढुंगाना तिम्सिनाले मुलुकको आर्थिक अवस्थामा सुधार आएको बताएकी छिन् । राष्ट्र बैंकको ७० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ढुंगानाले अघिल्ला वर्षहरूमा नेपालको आर्थिक अवस्था कमजोर भए तापनि अहिले केही सुधार देखिएको उल्लेख गरिन्। 

उनले भनिन् “मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको, आयात तथा निर्यात व्यापारमा सुधार भएको एवम् बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जा बिस्तारले समेत गति लिन थालेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रयमासको आर्थिक वृद्धिको तथ्याङ्कले समेत यसको पुष्टि गरेको छ । पछिल्लो समय भएका कानुनी सुधारले लगानीको वातावरण सहज बनाएको छ । यसले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा छ ।”

वैदेशिक विनिमय सञ्चिति सुधारोन्मुख रहेको, जसले आयात धान्न पर्याप्त रहेको जनाउँदै उनले राष्ट्र बैंकले हरित वित्त, डिजिटल भुक्तानी प्रणाली  र नवप्रवर्तनमा जोड दिएको उल्लेख गरिन् । विभिन्न समयमा नयाँ निर्देशिका जारी गर्नुका साथै व्यवस्थापन सुधारका कार्यक्रम कार्यान्वयन गरिएको उनले जनाइन्। 

निमित्त गभर्नर ढुंगानाले वित्तीय तथा मौद्रिक क्षेत्रमा चुनौतीहरू भने रहेको जनाउँदै त्यसप्रति सजग रहनुपर्ने उल्लेख गरिन् । वैश्विक आर्थिक जोखिम, मौद्रिक नीतिमा कडाइ, भूराजनीतिक तनावजस्ता विषयवस्तुले पार्ने प्रभावलाई राष्ट्र बैंकले नजिकबाट नियाल्ने उनले बताइन् ।  

आगामी दिनमा राष्ट्रबैंक वित्तीय पहुँच विस्तार, हरित विकास, वित्तीय समावेशीकरण, साइबर सुरक्षामा सुधार तथा डिजिटल नवप्रवर्तनको प्रवर्द्धनमा प्राथमिकतासाथ अगाडि बढ्नेछ भन्ने प्रतिवद्धता उनले जनाइन् ।