आइतबार, आश्विन १८ गते २०८३

सहकारी महासंघको आयोजनामा चेस प्रतियोगिता हुने


बैशाख १३, २०८२ शनिबार
सहकारी महासंघको आयोजनामा चेस प्रतियोगिता  हुने


 संयुक्त राष्ट्रसंघले घोषणा गरेको ’अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ को अवसरलाई लक्षित गर्दै प्रभु महालक्ष्मी दोस्रो ओपन फिडे ¥यापिड रेटिङ चेस प्रतियोगिता हुने भएको छ । राष्ट्रिय सहकारी महासंघले सो प्रतियोगिता बैशाख २५ र २६ गते ललितपुरमा आयोजना गर्न लागेको हो ।

यो प्रतियोगिताको मुख्य प्रायोजन प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले गरेको छ । यसअघि प्रतियोगिताको पहिलो संस्करण २०८० सालको जेठ १५ गते सम्पन्न भएको थियो, जहाँ काठमाडौंका युवा खेलाडी सुदीप तामाङले उपाधि जितेका थिए । प्रतियोगितामा प्राविधिक सहयोग नेपाल बुद्धिचाल संघले गरेको छ  । पहिलो संस्करणमा १११ जना खेलाडीको सहभागिता रहेको र यस पटक १५० बढी खेलाडी सहभागी हुने बताइएको छ  । यस पटक प्रतियोगिताको पुरस्कार राशिमा उल्लेखनीय वृद्धि गरिएको छ । प्रतियोगिताका विजेताले नगद ४० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । साथै, विजेताले एक वर्षका लागि १० लाख रुपैयाँ बराबरको आवधिक जीवन बीमा सुविधा पनि प्राप्त गर्नेछन् ।
त्यस्तै, दोस्रो स्थान हासिल गर्ने खेलाडीले २५ हजार रुपैयाँ नगद पुरस्कार र ७ लाख रुपैयाँ बराबरको आवधिक बीमा प्राप्त गर्ने छन्। तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद र ५ लाख रुपैयाँको एक वर्ष अवधिको बीमा पाउनेछन् ।

प्रतियोगितामा समग्रमा उत्कृष्ट १० खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । साथै, उत्कृष्ट क्रमशः तीन महिला खेलाडीले समेत नगर पुरस्कार प्राप्त गर्ने छन् । पहिलो हुनेले ७ हजार, दोस्रोले ६हजार र तेस्रो हुने महलि ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी, उत्कृष्ट भेट्रान (वरिष्ठ खेलाडी), उत्कृष्ट अनरेटेड (रेटिङ नभएका खेलाडी), उत्कृष्ट यु–१६ (१६ वर्षमुनी), यु–१८ (१८ वर्षमुनी) खेलाडीहरू,  उत्कृष्ट सहकारी खेलाडी, उत्कृष्ट विमा खेलाडीलगायतलाई नगद पुरस्कार प्रदान गरिनेछ । राष्ट्रिय सहकारी महासंघले खेलमार्फत सहकारी आन्दोलनको महत्व र सहकार्यको भावना प्रवद्र्धन गर्न बुद्धिचालजस्तो बौद्धिक खेलमार्फत योगदान पु¥याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको जनाएको छ । आयोजकले प्रतियोगितामा सबै उमेर समूहका खेलाडीहरूको उत्साहजनक सहभागिता हुने अपेक्षा गरेको छ ।