‘सोभियत सत्ताले मात्र आमजनतालाई शान्ति, किसानहरुलाई जमिन र भोकाहरुलाई रोटी दिन सक्छ’ – लेनिन
लेनिनको जन्म दिन २२ अप्रिललाई स्मरण गरौं, या लेनिन स्मृति दिवसको सम्झना गरौं, अथवा लेनिनले शोषणयुक्त पूँजीवादी सत्तालाई ढालेर शोषणविहीन समाज निर्माण गर्ने आधार तयार गर्ने बैज्ञानिक समाजवादको स्थापना गरेको महान अक्टोबर समाजवादी क्रान्तिको स्मरण गरौं, वास्वतमा हामीले लेनिनको जीवन र कर्मलाई नै सम्मान गरिरहेका हुन्छौ र उनीबाट अग्रगामी आमूल परिबर्तनको शिक्षा लिइरहेका हुन्छौं ।
यस सन्दर्भमा गएको बर्ष सन् २०२४ लाई कम्युनिष्ट क्रान्तिकारी मार्गदर्शक लेनिनको स्मृति शतवार्षिकी विश्वभर मनाइएको थियो । नेपालमा पनि यो लेनिन स्मृति शतवार्षिकी मनाइयो । लेनिनको नेतृत्वमा सम्पन्न महान अक्टोबर समाजबादी क्रान्ति भएको पनि आज १०८ बर्ष पुगेको छ । यस दिन विश्व भरीका श्रमजीवि जनताले लेनिनको नेतृत्वमा भएको सफल अक्टोबर क्रान्तिको स्मरण गर्ने गर्दछन् र त्यसबाट सही शिक्षा लिएर बर्गीय शोषण र सामाजिक उत्पीडनबाट आफ्नो मुक्तिको संघर्षलाई जीवन्त राख्न र समाजलाई अग्रगामी रूपान्तरण गर्न प्रण तथा महासंकल्प गर्ने गर्दछन् ।
मार्क्सवाका क्रान्तिकारी प्रयोक्ता, प्रवक्ता र सम्बृद्धकर्ता लेनिन र उनले सफल पारेको त्यो अपूर्ब र महान क्रान्तिको समीक्षा गर्ने, त्यसका बिश्वब्यापी प्रभावहरुलाई केलाउने र त्यो महान र सफल क्रान्तिको क्रान्तिकारी दिशा र गतिका सबलता र कमजोरीहरुलाई ठीकसँग पहिल्याएर अघि बढ्न शिक्षा लिने दिनको रुपमा आज पनि लेनिनको जन्म तथा स्मृति दिवसलाई लिन सकिन्छ र कम्युनिष्टहरुले लिने गर्छन नै । यसो गर्नु आज बिश्वभरका कम्युनिष्ट क्रान्तिकारीहरुको पहिलो र एक मात्र कर्तब्य पनि हो नै । यसो नगरीकन सारभूत एबं अग्रगामी अर्थ–सामाजिक रुपान्तरणको क्रान्तिकारी बिषय बस्तु, त्यसको प्राप्तिको सारभूत कार्य र त्यसका प्रकृयागत बिषयहरुलाई पहिल्याउन र सही दिशामा, सही किसिमले अघि बढ्न सकिदैन । यो बस्तुतः बस्तुगत द्वन्द्वबादी नियमकै सामान्य कार्य दिशा हो र हुुनु पर्दछ ।
यस सन्दर्भमा सर्वप्रथम, यो कुरा बुझ्नु र आत्मसात गर्नु अति आवश्यक छ भने वैज्ञानिक समाजवाद सापेक्ष रुपमा उच्च स्तरीय उत्पादनमा आधारित हुन्छ। समाजवादको निम्नतम अवस्था पूँजीवादको उच्चतम अवस्था हुन्छ र हुनुपर्दछ । यस कुराले कम्युनिष्टहरुले सामान्यतः बिश्व समाज र बिशेषतः बिश्व समाजको एक अंग कुनै पनि देश बिशेष बिकासको कुन चरणबाट गुज्रिरहेको छ त्यसको बस्तुगत र ठोस आधारमा खडा रहेर अध्ययन अनुसन्धान गरी निष्कर्श निकाल्नु पर्ने हुन्छ । यदि आजका बिश्वका सम्पूर्ण समस्याहरु श्रोत साधनहरुको असमान बितरणका कारण हुन भने यसको केवल एउटा मात्र सही समाधान यही हुन्छ कि श्रोत साधनहरूको सामाजिकीकरणा गरौं ! ‘सोभियत सत्ताले मात्र आमजनतालाई शान्ति, किसानहरुलाई जमिन, भोकाहरुलाई रोटी दिन सक्छ’ भनेर लेनिनले भनेका हुन् । त्यसका लागि आवश्यकताभन्दा बढी उत्पादन गरौं र त्यसलाई लोकतान्त्रिक किसिमले बितरण गरौ जसले गर्दा मानिसहरुका बीच एक अर्कोलाई उत्पीडन गर्ने कुनै कारणनै रहन पाउदैन ।
मार्क्स, एंगेल्स, लेनिन र माओका लेखरचनाहरुमा यो कुरा कहीँ पनि पाइदैन कि उनीहरुले एक देशमा मात्र समाजवादको उदय हुनसक्ने विशद र ब्यापक विचार प्रस्तुत गरेका हुन् । लेनिनले साम्राज्यवादको सबैभन्दा कमजोर कडी जुन बिन्दूमा हुन्छ त्यहाँ क्रान्ति सम्भव छ भनेर क्रान्तिको थप ब्याख्या गर्दै यूरोपका अरु देशभन्दा पिछडिएको रुसमा किन क्रान्ति सम्भव भएको छ भन्ने कुरा औल्याउनुका साथै औद्योगिक क्रान्ति नभएको कृषि बाहुल्य समाजमा क्रान्तिकारी प्रकृया बेग्लै किसिमले अघि बढ्छ र बढ्नु पर्दछ भन्ने संकेत गरेका थिए । त्यही कुरालाई सही रुपमा पक्रिएर माओले चीनमा नयाँ जनवादी क्रान्तिको सफल नेतृत्व गरेका हुन् र किसान बहुल समाजमा क्रान्तिको प्रकृया छुट्टै हुने मार्क्सवादी नियमको अवलम्बन गरेका हुन् । ती सबै क्रान्तिकारी सर्वहारा वर्गको मुक्ति र समुन्नतिको मार्गदर्शक नेताहरुलाई के कुरा एकदमै प्रष्ट थियो भने मार्क्सवाद सदैव नै एउटा अन्तर्राष्ट्रिय विचारधारा भएकोले पनि यसको कुनै राष्ट्रिय सीमा नै हुदैन र यो त्यसरी रहन नै सक्तैन । यो एकदमै प्रष्ट कुरा हो, थियो र रहिरहेको छ ।
श्रमिक बर्गका लागि गएको शताब्दीमा समाजवादी रुपान्तरण गर्ने कतिपय अवसरहरु आए र उनीहरु कतिपय देशहरुमा यसका लागि प्रयासहरु पनि गरे । तथापि केवल एक पटक र त्यो पनि छोटो अबधि अर्थात अरु ब्यवस्थाको तुलनामा क्षणिकरुपमा मात्र त्यो सफल भयो । त्यो हो – १९१७ को महान रुसी समाजबादी क्रान्ति ! एउटा पिछडिएको देशमा जन्मिएको क्रान्ति एक हजार बर्षदेखि चल्दै आएको जारको तानाशाहीलाई उखेलेर फाल्न सफल रह्यो र श्रमिक बर्गले सम्पूर्ण समाजलाई चलाउने अभ्यास शुरु गरिदियो । तथापि लेनिनको मनशाय कहिले पनि एक देशमा समाजवादको रहेन । यो असंभव छ, किनभने समाजवादले सामाजिक आवश्यकताहरुलाई पूरा गर्नका लागि उत्पादनको ठूला परिमाण(मास प्रोडक्सन)को आवश्यकता हुन्छ । यसका लागि अन्तर्राष्ट्रिय स्तरमा श्रोत साधनहरुलाई एकत्र गरिनु आवश्यक हुन्छ । अनि निश्चय नै, पूँजीवादलाई सजिलैसित एउटा एक्लो देशबाट हराउन पनि सकिदैन । क्रान्तिलाई अन्य देशहरुमा र तदन्तर सम्पूर्ण बिश्वमा फैलाउन पर्ने हुन्छ र त्यसो गर्न सकिन्छ ।
हुन पनि हामी प्रष्ट देख्दछौ कि सोभियत समाजको एक्लोपना, पछौटेपना तथा गृह युद्धको परिणामस्वरुप तथा बिदेशी हस्तक्षेपका २१ देशका सेनाहरुको हमलाका कारण रुसी क्रान्ति फाँसीको फन्दामा परेर झुण्डियो । यूरोपका आर्थिकरुपले बढी बिकसित देशहरुका क्रान्तिहरुको सहयोग बिना रुसमा समाजवाद सम्भव हुन सक्तैनथ्यो । यदि बाँकी यूरोपमा क्रान्ति सफल हुन्थ्यो भने त सबैले मिलेर प्राबिधिक, प्राकृतिक संसाधनहरु तथा जनसंख्यालाई सबैका लागि पर्याप्त उत्पादनका लागि एउटै ठाउँमा एकत्र गर्न सकिने थियो र क्रान्तिलाई बाँकी बिश्वमा फैलाउनका लागि पनि धेरै अनुकूल वाताबरण बनाउन सकिने हुन्थ्यो । यसको बिपरीत एक्लो क्रान्ति पछिल्लो कालमा क्षरण भएर सर्वहारा वर्गको सही अधिनाकयत्वको सट्टा एक किसिमको नोकरशाही तानाशाहीमा परिणत हुन पुग्यो। यसले समाजवादका लागिको संघर्ष वास्तवमा अन्तर्राष्ट्रिय संघर्षको एउटा माध्यमकोरुपमा आफुलाई बिकसित र खडा गर्न सकेन जुन गरिनै पर्ने अनिवार्य कार्य थियो । आज अनेक किसिमका क्षेत्रीय संघर्षहरु, आतंकवादका नयाँ नयाँ अवतारहरु, जातिय–धार्मिक युद्ध र मारकाटहरु सतहमा देखिएका छन् । विश्व अल्मलिएको अवस्थामा छ त्यसको निराकरण सही वैज्ञानिक सर्वहारा विश्व क्रान्ति मात्रै हो । अक्टोबर क्रान्ति पछिको युग सर्बहारा क्रान्तिकै युग हो । यसबाट दायाँ बायाँ भड्किएर बास्तबमा यो क्रान्तिको कार्यभार कीमार्थ पूरा हुन सक्दैन । महान समाजबादी अक्टोर क्रान्ति र लेनिनले दिएको क्रान्तिकारी शिक्षाको सारतत्व नै यही हो । यस अर्थमा समेत आज अमर छन् महान लेनिन र अमर छ महान अक्टोबर समाजबादी क्रान्तिको धेय । वर्गीय शोषण र सामाजिक उत्पीडन तथा साम्राज्यबादी उत्पीडनका विरुद्ध विश्वभरीका श्रमजीवी जनता र उत्पीडित राष्ट्रलाई क्रान्तिकारी मार्गदर्शन गर्ने लेनिनवाद जिन्दावाद !