आइतबार, आश्विन १८ गते २०८३

नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने प्रक्षेपण


बैशाख १०, २०८२ बुधबार
नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने प्रक्षेपण

 

नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने अनुमान गरिएको छ। विश्व बैंकले प्रकाशित गरेको  ‘साउथ एशिया डेभलपमेन्ट अपडेट, २०२५’ मा नेपालमा आर्थिक वृद्धिदर पहिला प्रक्षेपण गरेभन्दा कमजोर हुने उल्लेख गरिएको हो ।  ।

‘ट्याक्सिङ टाइम्स’ शीर्षकको यो अद्यावधिक प्रतिवेदनले वित्तीय प्रणालीको दीर्घकालीन कमजोरी र बाढीपहिरोबाट भएको क्षतिको प्रभावस्वरूप आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ४.५ प्रतिशत हुने अनुमान गरेको छ । आगामी वर्ष २०८२/८३ मा पनि नेपालको वृद्धि ५.२ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ ।

नेपालको आन्तरिक वित्तीय स्थायित्वमाथि थप जोखिम उत्पन्न गरिरहेको विश्व बैंकको ठहर छ । प्रतिवेदनमा भनिएको छ, ‘वित्तीय प्रणालीको अस्थिरता, कमजोर कर्जाको स्थिति र गहिरिँदो प्राकृतिक प्रकोपका घटनाले नेपाली अर्थतन्त्रको पुनरुत्थानमा चुनौती थपेका छन् ।’

प्रतिवेदनअनुसार नेपालको आर्थिक वृद्धि मुख्यतः जलविद्युत् क्षमतामा भएको वृद्धि र राम्रो मनसुनका कारण धान उत्पादनमा आएको सुधारले आएको हो । तर, निर्माण र वित्तीय सेवाक्षेत्रमा गतिविधि कमजोर रहेकाले समग्र वृद्धिमा प्रभाव परेको छ।

आर्थिक परिदृश्यमा सकारात्मक पक्ष विप्रेषण भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसले चालु खाता घाटा १२.५ प्रतिशतबाट ३.९ प्रतिशत सरप्लसमा पुर्‍याएको छ। यसले विदेशी मुद्रा सञ्चिति बढाएर १४ महिनाको आयात खर्च बराबर बनाएको छ ।

यद्यपि, प्रतिवेदनले आगामी वर्षमा भने नेपालले ५.२ प्रतिशत वृद्धिदर हासिल गर्ने संकेत गरेको छ । विश्व बैंकको मूल्यांकनमा दक्षिण एशियाका प्रायः सबै देशमा आर्थिक वृद्धिको पूर्वानुमान घटाइएको छ । सन् २०२५ को लागि क्षेत्रीय वृद्धि दर ५.८ प्रतिशतमा सीमित अनुमान गरिएको छ ।  गत अक्टोबरको अनुमानभन्दा ०.४ प्रतिशत बिन्दुले कम हो । सन् २०२६ मा क्षेत्रीय वृद्धिदर ६.१ प्रतिशतमा पुग्ने अनुमान गरिए पनि यो दर अझै पनि विश्वव्यापी अनिश्चितता र आन्तरिक संरचनात्मक कमजोरीहरूको जोखिममा रहनेछ ।